एउटै गाउँबाट १५ करोडको आलु निर्यात

सल्यान अनलाइन, भाद्र २१, २०७६


एउटै गाउँबाट १५ करोडको आलु निर्यात

भदौ २१, सल्यान 
जिल्लाको वाफुखोलाबाट मात्रै यो सिजनमा १५ करोड बढिको आलु निकासी भएको छ । बागचौर नगरपालिका वडा न ११ र १२ न वडाबाट मात्रै यस सिजनमा १५ करोडको आलु निकासी भएको हो । साविकको बाफुखोला गाविसका स्थानीयले यो वर्ष दुई हजार रोपनीमा आलु खेती गरेको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय सल्यानले जनाएको छ ।  आलुको पकेट क्षेत्रको रुपमा चिनिएको बाफुखोलाबाट वार्षिक सोही अनुमानमा आलु निकासी हुदै आइरहेको कार्यालयले जनाएको छ । 
आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसानहरु व्यवसायिक आलु खेतीमा आकर्षित हुदै आइरहेका छन् । परम्परागत अन्नबाली छोडेर व्यवसायिक आलु खेती गर्दै आइ रहेका बाफुखोलाबासीले झन्डै ८० प्रतिशत जमिनमा आलु खेती गर्ने गर्दछन् । 
विगतमा घरपरिवा पाल्न भारतका विभिन्न ठाउँमा मजदुरीका लागि जाने किसान अहिले आलुखेतीमा रमाई रहेको स्थानीय कोमला ओलीले बताए । आलु खेतीको किसानको जीवनस्तरमा निकै परिवर्तन ल्याएको उनको भनाई छ । उनले भने ‘२ दशकअघिसम्म मजदुरीका लागि भारतका विभिन्न ठाउँमा मजदुरी गर्न जानुपथ्यो अहिले आलुले गाउँमा रोजगारी दिएको छ । यस सिजनमा आलुबाट सात लाख आम्दानी गर्न सफल भएको छु ।’
सडक पुगेपछि व्यापारी गाउँमै पुगेर आलु खरिद गर्ने गरेको किसान दुर्गा बहादुर वलीले बताए । यो वर्ष गाउँबाटै प्रतिकिलो २५ रुपैयाका दरले व्यापारीले आलु खरिद गरेको बताए । उनले भने ‘अन्य खेतीपातीको जस्तो खासै दुःख पनि छैन, उत्पादन र मुल्य पनि वर्सेनि बढि रहेको छ । बारीबाटै व्यापारीले जिल्लाबाहिर लैजाने गरेका छन् ।’ 
आलु उत्पादनबाट गाउँमा वर्सेनि १० देखि १५ करोड रुपैया भित्रिने गरेपनि भण्डारणको व्यवस्था नहँुदा समस्या भएको १२ न वडा अध्यक्ष दिपक वलीले बताए । गाउँका सबैजसोले आलु उत्पादन गर्दै आइ रहेका छन् । अग्र्यानिक आलु भएकाले देशका ठुला सहरमा समेत यहाँको आलुको माग छ । उनले भने ‘तर गाउँमा कोल्ड स्टोर नहुँदा बारीबाटै बिक्री गर्नुपर्ने बाध्यता छ ।’ 
सल्यानको आलु दाङ, नेपालगञ्ज, धनगढी, चितवन, पोखरासम्म जाने गदछ । 

 




प्रतिक्रया दिनुहोस:

स्थानीय समाचार

    यस क्याटागोरिमा कुनै समाचार भेटिएन ।

कला

    यस क्याटागोरिमा कुनै समाचार भेटिएन ।

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka