मित्रताको महिमा र हाम्रो भूमिका

सल्यान अनलाइन, बैशाख २०, २०७६

मित्रताको महिमा र हाम्रो भूमिका

 

----जीतबहादुर शाह----
मेसेन्जर बक्समा एकजना साथीले मलाई एउटा सानो भिडियो क्लीप उपहार पठाइ दिएका रहेछन् । भिडियो क्लीप खोलेर हेरें । एकजना योगी महात्मा बोलिरहेका थिए – ‘संसारमा सवैभन्दा ठूलो शक्ति के हो भन्ने सम्बन्धमा मानिसका मतहरु बाझिएका पाइन्छन् । कोही भन्छन, ठूलो शक्ति भनेको सस्त्र हो, कोही भन्छन् शास्त्र हो । त्यसरी नै कोही भन्छन, बुद्धि हो त कोही भन्छन् बल हो ।’ उनी अगाडी भन्छन् – ‘यी सवैका विचारहरु अधूरा र अपूरा छन् । संसारको सवैभन्दा ठूलो शक्ति भनेको मित्रता हो । सच्चा मित्रताले कठिनाइको सामना गरिरहेकोलाई शस्त्र बनेर सहयोग गर्दछ भने पीडामा परिरहेकोलाई शास्त्र बनेर सहयोग गर्दछ । षडयन्त्रमा फसेकोलाई बुद्धि बनेर बाहिर निकाल्ने काम गर्दछ भने एक्लो महसुस गरिरहेकोेलाई ममता बनेर सहयोग गर्दछ । त्यसैले हरेक मानिसले सोच्नै पर्ने भएको छ कि संसारमा कमाउनु छ भने मित्रता कमाउनु पर्दछ न कि अरु ।’
हिन्दीमा भएको यो भिडीयो क्लीपलाई मैले दोहो¥याइ तेहे¥याइ सुनें, हेरें । अन्तरदृष्टिमा एउटा नयाँ ज्ञानको उद्भव भए झै अनुभूति भयो । मष्तिष्कमा दिब्यताका उषाकालीन किरण अवतरण भएर संसार उज्यालो देखिएको महसुस भयो । साँच्ची मानिसले भोग्दै आएका सवै समस्याको समाधान भनेको मित्रता रहेछ । यही परिवेशमा मैले दुःख भोगिरहेका र समस्यामा परिरहेका मानिसहरुलाई स्मृतिपटलमा निम्त्याएँं । घोत्लिदै जाँदा ती सवैले दुख पाउनुको कारण बोध भयो – मित्रताको अभाव अर्थात कसैको दुष्मनीले पारेको असर । विश्वमा अनगिन्ति युद्धहरु भए र भइरहेका छन् । करोडौं मानिसहरु मरे र मरिरहेका छन् । विभिन्न मुलुकले युद्ध र हातहतियार उत्पादन एवम् ओसारपसारमा मुलुकको बजेटको ठूलो हिस्सा खर्च गरे र गरिरहेका छन् । कारण त्यही रहेछ – मित्रताको अनिकाल र दुष्मनीको हालीमुहाली । महादेवले फुमन्तर गरेर खरानीको डल्लोलाई प्राण प्रतिष्ठा गरी मान्छे बनाए झै त्यस्तै फुमन्तर गरेर हेर्दाहेर्दै निमेषभरमा मित्रताको हालीमुहाली अनि दृष्मनिको अनिकाल भएको संसार सिर्जना हुन सक्यो भने साँच्ची यो दुनियाँ कस्तो हुन्थ्यो होला ! कल्पना गर्दा पनि मानष्पटलमा छुट्टै शान्तिको अनुभूति हुने गर्दछ ।

संसारमा दृष्मनी रहेन र मित्रताले दुवो झै फैलिने मौका पायो भने आज विद्यमान रहेका धेरै खराव कुराहरुको अस्तित्व संकटमा पथ्र्यो होला । एक अर्कामा दुष्मनी बढाउने विभिन्न राजनीतिक दल, समूह र सम्प्रदायहरु विलाउदै जान्थे होला । विभिन्न धर्मका धार्मिक ग्रन्थहरु पनि जलाइन्थे होला । धार्मिक ग्रन्थ मात्र होइन कार्ल माक्र्सको पूँजी र वर्ग संघर्षको सिद्धान्त पनि विना कामको हुन्थ्यो होला । किनभने त्यहाँ कसैले कसैको पसिनामा राज गर्ने सपना पनि देख्दैनथ्यो होला । सेना, पुलिस, अनगिन्ति कानून, हातहतियार, कारागार, आणविक भट्टी यी सवै कुरा इतिहासको गर्तमा थन्किन्थे होला । त्यस्ता क्षेत्रमा खर्च भइरहेको मुलुकको बजेट र मानिसको पसिना मानव कल्याण, विश्व शान्ति र समग्र पक्षको समुन्नतिका निम्ति लगानी गरिन्थ्यो होला । संसारमा रहेका विभिन्न भाषाका शब्दकोषहरुबाट दुःख, पीडा, लडाइ, झगडा, युद्ध, अशान्ति, धोका, मुर्खता, गरीवी, विपन्नता आदि लगायतका शब्दहरु पनि हटाइन्थे होला । यस्तो पनि हुन्छ र ? म आफैलाई विश्वास लाग्दैन । म आफैले आफैलाई सम्हाल्छु । नहुने के छ र जस्तो लाग्छ । यस्तैमा मलाई एउटा मीठो सन्दर्भकोे सम्झना हुन्छ ।
एकपटक एकजना गरीव महिलाको घरमा भोक र प्यासले तखतरान परेको अवस्थामा एक जना बालक आएर मलाई बचाउ भन्दै अनुनय विनय गर्छ । विचरा महिलासँग केही थिएन । तथापि आफूसँग एक गिलास दूध भएको कुरा उनलाई सम्झना हुन्छ र उक्त बालकलाई घरभित्र बोलाएर आफूसँग भएको एक गिलास दूध खुवाउदै उसको भोक र तिर्खा केही हदसम्म कम गर्न मद्दत गर्छिन । बालक दूध खाएपश्चात त्यहाँबाट खुशी भएर बाहिरिन्छ । त्यसको करिव पच्चीस वर्षपछि उक्त महिला विरामी भएर उपचारका लागि अस्पतालमा पुग्छिन । उनको उपचार सुरु हुन्छ । शल्यक्रिया गरिन्छ । अन्ततः उनलाई निको हुन्छ । औषधी र उपचारको बील पाँच लाख रुपैयाँको हुन्छ । उक्त महिलासँग यो रकम तिर्नका लागि एक पैसा पनि हुदैन । उनी झस्किन्छिन । मूर्छनाका लक्षणहरु देखा पर्न थाल्छन् । त्यतिबेलै काउण्टरको मानिसले भन्छ – ‘तपाइ आत्तिनु पर्दैन । यो सवै पैसा तपाईको अप्रेसन गर्ने डाक्टरले तिरिसक्नु भएको छ । डाक्टरले तपाईलाई यो पनि भन्नु भएको छ कि कुनै बेला भोक र प्यासले लखतरान परेको अवस्थामा खान दिनु भएको एक गिलास दूधको गुण तिर्ने मौका दिनु भएकोमा धेरै धेरै धन्यवाद ।’

यो घटना र सन्दर्भको अध्ययन गरेपछि मलाई लाग्छ कि मैले परिकल्पना गरेको मित्रताले भरिएकोे संसारको स्थापना गर्न सम्भव छ । यसका लागि मानिसहरुको मन उदार र विशाल हुनु पर्दछ, माथिको सन्दर्भमा देखा परेका गरिव महिला र डाक्टरको जस्तै । यसका लागि मानिसको सोच्ने शैली र गर्ने ब्यवहारमा आमूल परिवर्तन हुनु पर्दछ । ब्यवस्था बदल्ने तर सोच्ने शैली र गर्ने ब्यवहार नबदल्ने हो भने आमूल परिवर्तन सम्भव छैन । आजका मानिसको मूल समस्या भनेकै यही हो । मानिसले ब्यवस्था बदल्छ, कानून बदल्छ तर आफूभित्रको आफूलाई बदल्दैन । त्यसकारण यहाँ केही बदलिदैन । मानिस भित्रको मानिस नबदलिएसम्म यहाँ भएका परिवर्तनहरु नाम मात्रका हुने कुरा निश्चितप्राय छन् । कपडा फेरे जस्तै । नयाँ बोतलमा पूरानै रक्सी भरे जस्तै । एकपटक चटकीले मुसोेलाई बाघ बनाइदिएछ । यसरी चटकीले बनाइदिएको बाघ त बिरालो देख्नासाथ सुइकुच्चा ठोकेर भागेछ । हाम्रो हविगत पनि यही गति र यही बाटोबाट अघि बढिरहेको छ ।
सवै मानिसहरु एक अर्कालाई उछिन्ने अभियानमा लागेका छन् । द्वन्द्व र बैमनष्यताले भरिएका मनहरुको जम्काभेट भएको छ । एकले अर्कालाई कसरी खुशी बनाउने र शान्ति दिने भन्दा पनि आफूले अर्कोलाई षडयन्त्रको खाल्डोमा फसाएर आफूले कसरी फाइदा लिने भन्ने अभियानमा छ आजको मान्छे । बुद्धको जन्मथलो लुम्बिनीमा उभिएर छातीमा हात राख्दै भन्नु पर्दा दुखको कारण नै यही हो । दुःखको बाटो सधै हिडिरहने र सुखशान्ति पाइएन भनेर गुनासो पनि गरिरहने हाम्रो नियति र प्रबृत्तिलाई देख्दा काशी जानका लागि कुतिको बाटो लागेको भन्दा कुनै मानेमा फरक छैन । हाम्रो यही नियतिका कारणले हाम्रो विकास र समुन्नति पनि भ्यागुताको धार्नी भएर हाम्रै उपहास गरिरहेकोे छ ।
वास्तवमै भन्नुपर्दा, मित्रताको महिमा अपरम्पार छ । मित्रताको महत्वको चर्चा गरिएका विभिन्न भनाइहरु भेटिएका छन् । मित्रको बारेमा हेलेन केलरको भनाइ छ – ‘म उज्यालोमा एक्लै भएको अवस्थामा भन्दा अध्यारोमा मित्रसँग भएको अवस्थामा राम्रोसँग हिड्न सक्छु ।’ मित्रताको बारेमा त्यस्तै एउटा अर्को भनाइ छ – ‘मित्रता भनेको एक अर्काप्रतिको विश्वास हो, एक अर्कालाई गर्ने सहयोग हो, एक अर्कालाई गर्ने प्रेम हो र एकअर्काप्रति हुने सम्मोहन हो ।’ त्यस्तै अर्को भनाइ छ – ‘बलियो मित्रताका निम्ति न त दैनिक वार्तालाप नै आवश्यक पर्दछ न त सधैको सँगै बसाइ । बरु यो सम्बन्ध सम्झनाको रुपमा सधै सधै मुटुमा बसिरहन्छ ।’ त्यस्तै अर्को भनाइ पनि छ – ‘मित्रताको अर्थ बुझाइ हो न कि सम्झौता । यो क्षमादान हो न कि विस्मरण । यो भनेको ब्यक्तिसँग सम्पर्कविच्छेद भएपनि अन्तसम्म रहिरहने सम्झना हो ।’ त्यस्तै थोमस इक्वीनासले सच्चा मित्रताको महिमाको बारेमा भनेका छन् – ‘यो पृथ्वीमा सच्चा मित्र पाउनु जस्तो ठूलो पुरष्कार अरु केही छैन ।’
मित्र र मित्रताको बारेमा ब्याख्या गरिएका उल्लिखित भनाइहरुको अध्ययन गर्दा लाग्छ कि मित्रता हरेक समस्याहरुको समाधान हो । मित्रताको विरुद्ध र बर्खिलापमा मानिसहरु एक शब्द पनि बोल्न सक्ने अवस्था छैन । बरु कसैप्रति दुष्मनी साध्नेहरुले समेत मित्रताकै सुन्दर खोल ओढेर भित्रभित्र सकुनीका पासाहरु विछ्याउने काम गर्दछन् । मित्रताको खोल ओढ्ने क्रममा भूमिका भने फरक फरक हुने गर्दछ – कोही प्रेमी प्रेमीकाको भूमिकामा हुन्छन् । कोही नाता कुटुम्बको भुमिकामा हुन्छन् । कोही सहकर्मीको भूमिकामा हुन्छन् त कोही परिवारका सदस्यको भूमिकामा हुन्छन् । यस्तो अवस्थामा जव कुनैै एक पक्षले अर्कोमाथि विश्वास गर्दछ अनि अर्को पक्षबाट सुरु हुन्छ षडयन्त्रको पासा थाप्ने खेल । यी सवै घटना र परिघटनाहरु ब्यवहारमा परे पछि थाहा हुन्छ । कसैको निम्ति ज्यान दिन्छु भनेर कुर्लने मानिसहरु ब्यवहारमा परिआउदा उल्टै ज्यान लिने खेल खेलिरहेका हुन्छन् । हरेक विहान मिडियाहरुबाट आउने समाचारहरु यस्तै यस्तै घटनाहरुले भरिएका हुन्छन् भन्दा अन्यथा नहोला ।

एकपटक एकजना आध्यात्मिक स्वभावको मानिसले देवदूतलाई भेटेपछि स्वर्ग र नर्कको बारेमा जिज्ञाशा राख्दा देवदूतले ती आध्यात्मिक स्वभावका ब्यक्तिलाई एउटा ठाउमा लिएर गएछन् जहाँ खानाका अन्येक परिकारहरु तयार थिए । तथापि मानिसहरु खाना नपाएर रोगी र मरन्च्यासे देखिन्थे । यसको कारण एउटै थियो उनीहरुको पाखुरामा फोल्डिङ गर्न नमिल्ने गरी लामो चम्चा बाँधिएको थियो जसले गर्दा उनीहरुले खाने कुरा मुखसम्म ल्याएर खानका लागि सम्भव हुदैनथ्यो । देवदूतले ती ब्यक्तिलाई यो नर्क हो भनेर चिनाए । देवदूतले ती ब्यक्तिलाई फेरि त्यस्तै मीठा मीठा परिकार भएको ठाउमा लिए । जहाँ पहिलेको जस्तै गरी मानिसहरुका पाखुरामा लामा लामा फोल्डिङ गर्न नमिल्ने चम्चाहरु बाँधिएको थियो । तथापि मानिसहरु निरोगी, स्वस्थ र खुशी थिए । मीठामीठा परिकारहरु खाइरहेका थिए । खाने तरिका भने फरक थियो । उनीहरुले आफ्नो पाखुरामा फोल्डिङ गरेको चम्चाले आफूले खान नमिले पनि अर्कोलाई खुवाइरहेका थिए । देवदूतले यो ठाउलाई स्वर्ग भनेर ती ब्यक्तिलाई परिचय गराए ।
उल्लिखित घटनाको अध्ययन गर्दा लाग्छ ठाउ र परिवेश उस्तै भए पनि उक्त ठाउलाई नर्क वा स्वर्ग बनाउने भनेको हामी मानिसले हो । मानिसहरुले आफ्नो बारेमा मात्र भलो सोच्न थाल्यो भने त्यो ठाउ नर्क अर्थात नराम्रो हुन्छ भने मानिसले आफ्नो भन्दा पनि अरुको भलोको बारेमा सोचेर काम गर्न थाल्यो भने त्यो ठाउ राम्रो अर्थात स्वर्ग हुन्छ । अतः मैले माथि परिकल्पना गरे झै यो धर्तिमा मित्रताले भरिएको एउटा सुन्दर बस्तीको स्थापना गर्ने हो भने हरेक मानिसले अरुको निम्ति बाँच्ने अभियानको सुरुआत गर्नुपर्दछ । सन्तानले बाबा आमाको निम्ति बाँच्न सक्नुपर्दछ भने बाबा आमाले सन्तानको निम्ति । पतिले पत्नीको निम्ति बाँच्नुपर्दछ भने पत्नीले पतिको निम्ति । आदि आदि । सच्चा मित्रतालाई आधार बनाएर यसरी हामीले अरुको निम्ति बाँच्ने प्रतिबद्धता देखाउन सक्यौं भने हाम्रो निम्ति बाँच्नका लागि पनि अरु कसैले प्रतिबद्धता देखाइरहेको हुन्छ । जसले गर्दा हामीलाई सुख र शान्तिपूर्वक बाँच्न सहज हुन्छ । सवैलाई चेतना भया ।


प्रतिक्रया दिनुहोस:

पाठक विचार

ब्लग

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka