नेकपा भित्र बैचारिक बहसका आधारहरु

सल्यान अनलाइन, जेठ ३०, २०७६

नेकपा भित्र बैचारिक बहसका आधारहरु

तिलक राज भण्डारी  ( नेता अनेरास्ववियु)

नेकपाको एकता प्रक्रिया जिल्ला र स्थानीय तह तथा जनवर्गीय संगठनहरुसम्म पुग्दा नपुग्दै भाषण, मिडीया र सामाजिक सञ्जालहरु मार्फत बैचारिक बहसको सुरुवात भएको छ ।
कम्युनिष्ट पार्टीभित्र सञ्चालन हुने सबै प्रकारका बैचारिक बहसहरुलाई सकारात्मक रुपमा ग्रहण गरिनु पर्दछ । तर, बहस सिर्जना गर्ने ओहदा, नियत र सम्भावित परिणाम समेतलाई आत्मसाथ गर्दै व्यवस्थित र विधीसम्मत बहसमा सहभागी हुनु र बहस सुरु गर्ने आधार स्तम्भको खोजी गर्नु हरेक कम्युनिष्ट कार्यकर्ताको दायित्व बन्न जान्छ ।

मार्गदर्शक सिद्धान्त :

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को एकतापछि गठित कम्युनिष्ट पार्टी हो । उक्त पार्टीमा यी दुवै पार्टीले अवलम्वन गरेका मार्गदर्शक सिद्धान्त, बिचार,दर्शन, संगठनात्मक पद्धति, राजनैतिक कार्यदिशा, वर्गीय पक्षधरता र दुबै पार्टीले हाँसिल गरेका उपलब्धी तथा सीमाहरुको स्वामित्व ग्रहण गर्दै तत्कालिन र रणनैतिक कार्यक्रमको तय गरेर मात्रै यो एकता प्रक्रिया सम्पन्न भएको छ ।

तत्कालिन नेकपा (एमाले) ले माक्र्सवाद– लेनिनवाद लाई मार्गदर्शक सिद्धान्त बनाउदै आएको थियो भने नेकपा (माओवादी केन्द्र) ले माक्र्सवाद–लेनिनवाद–माओवाद लाई आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा अवलम्बन गर्दै आएको थियो ।
माक्र्सवाद र लेलिनवादलाई मार्गदर्शक सिद्धान्तलाई मान्ने सन्दर्भमा पार्टीभित्र कुनै विबाद रहेन । तर, तत्कालिन माओवादी केन्द्रले अवलम्बन गरेको माओवादबारे पार्टीमा बहस छ ।

अर्धसामन्ति तथा अर्धऔपनिवेशिक चीनमा माक्र्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोग गर्दै दिर्घकालिन जनयुद्धको सफल प्रयोगमार्फत सम्पन्न चीनियाँ क्रान्तिमा विकास भएका दार्शनिक र बैचारिका अवधारणलाई माओवादको रुपमा संश्लेषण गर्दै मार्गदर्शक सिद्धान्तको रुपमा अवलम्वन गर्नु विश्व कम्युनिष्ट आन्दोलन र स्वयं नेपाली कम्युनिष्ट आन्दोलनको निम्ति जरुरी छ कि छैन ? बहसको विषय बनाउनै पर्दछ ।

माओले द्वन्द्धात्मक भौतिकवादको दार्शनिक पक्षमा प्रकृति, समाज र मानवीय ज्ञानका सबै क्षेत्रमा द्वन्द्धवादको आधारभुत नियमका रुपमा अन्तरविरोधका नियम उद्घाटन गर्दै अन्तरविरोधको सार्वभौमिकता र प्रधान अन्तरविरोधको निर्यौलले क्रान्तिका रणनीति र कार्यनीति निर्माणमा योगदान पु¥याएको देखिन्छ ।
त्यसरी नै माओले वर्गसंघर्ष, उत्पादनका निम्ति संघर्ष र बैज्ञानिक प्रयोग नै ज्ञानको श्रोतको रुपमा ब्याख्या गरे । जसले इन्द्रीय ग्राह्य ज्ञानबाट बुद्धिसंगत ज्ञानमा पुग्ने ज्ञान सिद्धान्तमा पनि थप विकास भएको छ ।

 

वर्गसंघर्षको सिद्धान्तमा नयाँ विकास गर्दै दिर्घकालिन जनयुद्धको सिद्धान्त, जनमुक्ति सेनाको निर्माण र परिचालन मार्फत माक्र्सवादको आधारभुत मान्यता बल प्रयोगको सिद्धान्त तथा सशस्त्र क्रान्तिको सार्थकता र सफलताले माक्र्सवादको विकासमा योगदान ग¥यो कि गरेन ? बहस गरौं ।
माओले निरन्तर क्रान्तिका रुपमा महान सर्वहारा साँस्कृतिक क्रान्तिको अवधारणा मार्फत क्रान्ति सम्पन्न भएपछि पार्टी र सरकारको नेतृत्व गर्ने कम्युनिष्ट पार्टी तथा त्यसको नेतृत्वलाई निरन्तर सर्वहाराकरणको प्रक्रिया मार्फत सर्वहारा वर्गको अधिनायकत्वलाई बलियो बनाउने अवधारण हामी कम्युनिष्ट हौं भन्नेहरुका लागि आत्मसाथ गर्न जरुरी छ कि छैन ?

त्यसरी नै साम्राज्यवादको दब दवा रहेको आजको विश्वमा माओले अघि सारेको संयुक्त मोर्चा को अवधारणाले क्रान्तिलाई टेवा पु¥याउछ कि पु¥याउदैन ? वस्तुसंगत बहस गर्न जरुरी छ ।

नेकपाले विश्व कम्युनिष्ट आन्दोलनका शिक्षाहरुबाट सिक्दै नेपाली मौलिकतामा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने बैचारिक दृढता सावित गर्नै पर्दछ ।

नेपाली क्रान्तिको कार्यदिशा  :

नेकपाको एकता पछि बहसको अर्काे विषय नेपाली क्रान्तिको कार्यक्रम तथा कार्यदिशा नै बन्न गएको छ ।
एकातर्फ तत्कालिन एमालेले अवलम्बन गरेको जनताको बहुदलीय जनवाद शान्तिपूर्ण क्रान्तिको मोडेलमा आधारित कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउने एउटा जनवादी कार्यक्रमको रुपमा नेपाली कम्युनिट आन्दोलनमा स्थापित छ ।

बहुलवादलाई स्वीकार्दै बहुदलीय प्रतिस्पर्धा मार्फत राज्यसत्ताको नेतृत्वमा पुगेर समाजवाद निर्माणको रणनीतिमा पुग्ने कार्यनीतिक श्रृंखलाको रुपमा जबजलाई प्रयोग गरिएको थियो ।

विश्व कम्युनिष्ट आन्दोलनमा प्रयोग भईरहेका बल प्रयोगको सिद्धान्त र शसस्त्र क्रान्तिको तरीका बाट होईन कि शान्तिपूर्ण प्रतिस्पर्धा मार्फत जनवादी क्रान्ति सम्पन्न गर्ने तत्कालिन कार्यक्रमका रुपमा जबजलाई अबलम्बन गरिएको छ ।

बहुदलीय प्रतिस्पर्धामा चुनावी एजेण्डालाई लोकप्रिय बनाउने र सरकारको नेतृत्वमा पुग्दा पार्टीको तर्फबाट लागु गरिने नीति तथा कार्यक्रमको मार्ग निर्देशन गर्नु यसको तत्कालिन उद्देश्य थियो ।

त्यसैगरी तत्कालिन माओवादी ले अबलम्वन गरेको २१ औं शताब्दीको जनवादलाई विश्व कम्युनिष्ट आन्दोलनमा देखा परेका क्रान्ति र प्रतिक्रान्तिका शिक्षाहरु र नेपाली जनयुद्धका अनुभव समेतलाई आत्मसाथ गर्दै सुचना प्रविधिको आजको युगमा क्रान्ति सम्पन्न गर्ने र प्रतिक्रान्ति रोक्ने तथा निरन्तर क्रान्ति मार्फत कम्युनिष्ट पार्टी, सेना र सत्ताको सर्वाहाराकरण गर्ने मालेमावादको सृजनात्मक प्रयोगको रुपमा ब्याख्या गरिएको छ ।

२१ औं शताब्दीको जनवादमा जननियन्त्रित पार्टी, सेना र सत्ताको निर्माणमा जोड दिईएको छ ।

कम्युनिष्ट पार्टी राज्यसत्तामा पुगिसकेपछि पार्टीका नेता तथा कार्यकर्ताहरु राज्यसत्ता सञ्चालनमा सम्लग्न हुँदा भौतिक परिवेशले नै पार्टीलाई क्रमशः नोकरशाही, पदलोलूप र सुविधा सम्पन्न वर्गमा परिणत हुने खतरालाई रोक्नकालागि दुईलाइन संघर्ष र निरन्तर क्रान्तिको सिद्धान्त अनुसार पार्टीलाई सर्वहारा वर्ग र श्रमजीवि जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा राख्ने संगठनात्मक विधि र मान्यताको विकासमा जोड दिईएको छ ।

त्यसैगरी क्रान्तिमा त्याग, तपस्या, वीरता, वलिदान र वैचारिक निष्ठा सहित जनसमुदायसँग एकाकार हुँदै युद्ध मोर्चामा अपराजय साबित हुने जनसेना राज्यसत्ता कब्जा भई सकेपछि क्रमशः व्यारेकमा केन्द्रीत वुर्जुवा सेना बन्ने खतारालाई रोक्न सेनामा वैचारिक र राजनैतिक कामलाई सर्वाधिक महत्वकासाथ सञ्चालन गर्ने र प्रतिक्रान्तिका विरुद्ध विद्रोहको चेतनाद्धारा सिंगो सैन्य पंक्ति एवं आम जनसमुदायसम्मलाई सुसज्जित पार्ने कुरामा २१औं शताब्दीको जनवादमा जोड दिईएको छ ।

साम्राज्यवादले आफ्नो सैन्य फाँसिवादी सारतत्वलाई तथाकथित प्रजातन्त्रको खोल ओढेर विश्व जनमतलाई भ्रमित पार्न सफल हुने तर सर्वहारा वर्गले आफ्नो जनवादी सारतत्वका बावजूद पनि राज्यसत्तामा आफ्नो पकड मजबुत गर्न नसक्नुले जनवादको विकासमा देखिएको समस्या सामाधान गर्ने उद्देश्यमा २१ औं शताब्दीको जनवादको अवधारण आएको छ ।

सामन्तवाद र साम्राज्यवाद विरोधि जनवादी राज्यसत्ताको संवैधानिक सिमा भित्र राजैतिक प्रतिस्पर्धा संगठित गरि कम्युनिष्ट पार्टीको निरन्तर सर्वहाराकरण र क्रान्तिकारीकरण अनिवार्य हुने परिस्थिति निर्माण गरिनु नै राज्यसत्ताको बारेमा २१ औं शताब्दीको जनवादको सारतत्व हो । ।

यदि पार्टीले आफैलाई निरन्तर क्रान्तिकारीकरण गर्न नसके जनताले अर्को क्रान्तिकारी पार्टी वा नेतृत्वलाई राज्यसत्तामा पु¥याउन सक्ने जनसमुदायको अधिकारलाई संस्थागत गरेर मात्र प्रतिक्रान्तिलाई रोक्न सकिन्छ ।

स्पष्ट छ कि यो प्रक्रियामा यदि कसैले जनवादी राज्यसत्ताद्धारा वैधानिक रुपले निर्धारित सीमाको अतिक्रमण गरेमा उसमाथि जनवादी अधिनायकत्व लागू गरिनु पर्नेमा जोड दिईएको छ ।
नेपालको सन्दर्भमा एकातिर जनवादी क्रान्तिका सन्र्दभमा वर्गीय, जातीय, क्षेत्रीय एवं लिङ्गीय उत्पीडनबाट जनसमुदायको मुक्तिको शर्त अनिवार्य बन्नु र अर्काेतर्फ सामन्तवाद र साम्राज्यवाद विरोधी पार्टीहरुका बिचमा स्वतन्त्र प्रतिस्पर्धाको वातावरण निर्माण गर्नु सामान्य विषय हुँदै होईन ।
२१ औं शताब्दीको जनवादको अवधारणमा पार्टी, सेना र राज्यसत्ताको समूचित विकास गर्दै निरन्तर क्रान्तिको प्रक्रियालाई अगाडि बढाएर मात्रै क्रान्तिकारीहरुले प्रतिक्रान्तिलाई रोक्न सक्दछन् भन्ने सारतत्व अन्तरनिहित छ ।

भिन्न–भिन्न पृष्ठभूमीबाट तय गरिएका जनवादी क्रान्तिका यी दुई धार जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवाद बस्तुतः एकताको बैचारिक आधार बनेका छन् । अव यी आधारमा टेकेर नेकपाले नयाँ बैचारिक संलेशण गर्न जरुरी छ । पार्टीले एकतापछि नयाँ राजनीतिक कार्यदिशा “समाजवाद उन्मुख जनताको जनवाद” निर्माण गरिसकेको सन्दर्भमा जनवादी क्रान्तिका कार्यक्रममा मात्रै अल्झिराख्ने कुराले विचारको विकासलाई टेवा पु¥याउन सक्दैन ।

पार्टी एकताको सन्दर्भमा राजनैतिक कार्यदिशा सम्बन्धी सहमति : 

पार्टी एकताको सन्दर्भमा निर्माण गरिएको राजनीतिक प्रतिवेदनमा दशवर्षे जनयुद्ध र शान्तिपूर्ण जनसंघर्षको जगमा नेपालमा जनवादी क्रान्ति आधारभूत रुपले सम्पन्न भएको निष्कर्ष निकालिएको छ ।

उक्त जनवादी क्रान्तिका आधारभूत उपलब्धीहरु नेपालको संविधानमा संस्थागत भईसकेका छन् । तसर्थ नेपाली क्रान्तिको चरण समाजवाद प्रवेश गरेको छ । यद्यपी जनवादी पूँजीवादी क्रान्तिलाई सुदृढ नगरी समाजवादमा पुग्न नसकिने वस्तुगत विश्लेषण गर्दै त्यसको लागि दलाल नोकरशाही पूँजीवादको अन्त्य गर्न जरुरी हुन्छ ।

पार्टीको राजनीतिक कार्यदिशा “समाजवाद उन्मूख जनताको जनवाद” तय गरिएको छ । उक्त राजनीतिक उद्देश्यमा पुग्न जनवादी पूँजीवादी क्रान्तिको चरणमा प्राप्त उपलब्धीहरुको सुदृढीकरण गर्दै तत्कालका लागि राष्ट्रिय औद्योगिक पूँजीवादको विकास मार्फत आर्थिक समृद्धि र सामाजिक न्याय सहितको समाजवादमा पुग्ने रणनीतिक लक्ष्य पार्टीको राजनीतिक दस्तावेजमा उल्लेख छ ।

तसर्थ पार्टीको संस्थागत राजनीतिक कार्यदिशा “समाजवाद उन्मूख जनताको जनवाद” हुँदाहुदै कतिपय सन्दर्भमा पार्टीको कार्यदिशा जनताको बहुदलीय जनवाद नै हो वा २१ औं शताब्दीको जनवाद हो भन्ने कुराले गलत राजनीतिक उद्देश्य पुरा गर्ने कुण्ठा र एकताविरोधी अराजक मनोवृत्तिलाई मात्रै अभिव्यक्त गर्दछ ।

नेकपालाई कम्युनिष्ट पार्टी र हामी त्यसका कम्युनिष्ट नेता कार्यकर्ता हौं भन्ने हाम्रो दावी गलत छैन भने कम्युनिष्ट पार्टीभित्रका बैचारिक बहसहरुलाई विधिमा व्यवस्थित गरिनु पर्दछ ।
त्यतिमात्रै होईन नेकपामा अहिले एकताको संवेदनशिलता पनि विद्यमान छ । बैचारिक बहसका बखेडा झिकेर व्यक्तिगत कुण्ठाको रोईलो गर्ने र कसैलाई घोचपेच गर्ने भाषा पार्टीमा सह्य हुँदैन ।

यहि जटिलता र संवेदनशिलता लाई आत्मसाथ गरेर एकताको सन्दर्भमा पार्टीको उच्च तहमा राजनीतिक सहमति भएको छ ।

जनताको बहुदलीय जनवाद, २१ औं शताब्दीको जनवाद र माओवाद बारे एकता महाधिवेशनमा बहस गर्र्नेगरी पार्र्टीको तत्कालिन कार्यदिशाको रुपमा “समाजवाद उन्मुख जनताको जनवाद” तय गरिएको छ । सहमतिमा अर्काे महत्वपूर्ण पक्ष के छ भने “आगामी एकताको राष्ट्रिय महाधिवेशनमा राजनीतिक, बैचारिक तथा नेतृत्व र संगठन सम्बन्धि विषयमा अल्पमत र बहुमतका आधारमा नभई सहमतिका आधारमा टुंगो लगाईनेछ ।

एकताको संवेदनशिलताको सन्दर्भमा यो निकै महत्वपूर्ण विषय हो । एकतामा संगठनात्मक सिद्धान्त समानता, सम्मानजनक र न्यायोचित हुनुपर्ने, सबै निर्णयहरु कमिटीबद्ध र विधीसम्मत छलफलका आधारमा गर्ने र उक्त निर्णयमा दुबै अध्यक्षको हस्ताक्षरपछि मात्रै आधिकारिक मानिने सहमतिको कार्यन्वयन भईरहेको छ कि छैन बहस गर्न जरुरी छ ।
त्यसैगरी समानता र समान अवधिकालागि आवश्यकता अनुरुप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने लगायतका सहमति भएका छन् । एकताको विशिष्ट सन्दर्भमा भएका

यी सहमतिहरु अन्तरिक छलफल र कार्यन्वयनका विषय हुन कि सार्वजनिक बहस तथा सामाजिक सञ्जालका विषयहरु हुन् ?

नेकपाको एकता प्रक्रियालाई सुदृढ गर्ने तथा समाजवादमा पुग्ने रणनैतिक उद्देश्यमा आधारित भएर पार्टीभित्र व्यवस्थित र बिधीसम्मत बहस गर्ने हो भने पार्टीको मार्गदर्शक सिद्धान्त, नेपाली क्रान्तिको कार्यदिशा र संगठनात्मक सिद्धान्त तथा कार्यविभाजन लगायत एकता प्रक्रियामा भएका सहमति र समझदारीहरु नै बहसका आधार बनाईनु पर्दछ । यो भन्दा बाहिरबाट गरिने बहसभित्र अमुक नेता,गुट र समूहको स्वार्थ अन्तरनिहित छ भन्ने कुरामा हामीलाई संका छैन ।

लेखक भण्डारी नेकपाका विद्यार्थी संगठनका नेता हुन् ।


प्रतिक्रया दिनुहोस:

पाठक विचार

ब्लग

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka