फेसबुकबाट फक्रेको प्रेम

सल्यान अनलाइन, फाल्गुन २८, २०७२


फेसबुकबाट फक्रेको प्रेम

नवराज बराल सुरुमै हाई ! हेलो ! लेख्ने सिस्टम मैले ब्रेक गरेँ । उनको मप्रति ध्यानाकर्षण गराउन पनि त्यसरी बोल्नु ठीक लागेन । सुरुमै सुत्ने बेला भएन हजुर ? भनेर लेखी पठाएँ । नाई ! उनको तत्कालै प्रतिक्रिया आयो ।
उनको प्रतिक्रिया त्यत्तिमात्र आएको भए बोल्ने बाटो हुन्थेन । उनले पनि बोल्ने रहर व्यक्त गरिन् र भनिन् हजुरको नि ?
‘मेरो पनि भाको छैन,’ मैले भनेँ ।
‘के गर्दै हुनुहुन्छ र ?’ उनको प्रश्न थपियो ।
‘म काम गर्दै छु,’मैले सहजतापूर्वक जवाफ दिएँ ।
अहिलेसम्म ? के काम गर्नुहुन्छ र यसबेला पनि ? उनको उत्सुकतापूर्ण प्रश्न फेरि आयो ?
‘म एउटा दैनिक पत्रिकामा काम गर्छु । काम सकिएकै छैन,’ मैले भनेँ ।
कति बजे भ्याउनुहुन्छ ?
थाहै छैन, सायद अब एक घन्टामा सकिएला !
बोल्ने सुरुवात मैले गरे पनि चासोका साथ उनले कुरा गरिन् । यसो भनौँ, मभन्दा उनी धेरै बोल्न थालिन् । कुरा बढ्दै गए । उनलाई पनि त्यति अबेरसम्म नसुत्नुको कारण सोधेँ ।
‘घरमा पूजा छ, जताततै पाहुना छन् त्यसैले । आज त सुत्न पनि पाइन्न होला,’ उनले भनिन् ।
च्याट बढ्न थाल्यो । मैले पनि काम सकेर आनन्दसँग कुरा गर्न थालेँ ।
भन्नुस् न कहाँनेर हो घर ?
रामबजार ।
को–को हुनुहुन्छ घरमा ?
सबैजना । दुइटी बहिनी, भाइ, बाबा–ममी र म । एउटी दिदीको बिहे भो । हजुरको नि ?
मेरो घरमा त धेरै हुनुहुन्छ ।
को–को ?
६ वटी बहिनी, तीनवटी दिदी ।
हैन होला ! त्यति धेरै त, जिस्केको हो कि ?
हो के !
कहाँ हो र हजुरको घर ?
मेरो घर त धेरै टाढा हो ।
कहाँ त नि ?
रुकुम, रोल्पातिर ।
कतिभयो त यता आउनुभाको ?
संकटकाल लागेपछि ।
माओवादी हो कि ?
किन र ?
त्यसै ।
जाने बेला भएन ?
हुन लाग्यो ।
जानुस्, म्याडमले कुरिरहनुभको होला ।
म्याडम कता हुनुहुन्छ ?
थाहा छैन ।
म्याडमले छोड्नुभयो कि हजुरलाई ?
हो हो ।
बच्चाबच्ची नि ?
मैसँग छन् ।
मैले उनलाई सत्य बताउन आवश्यक ठानिनँ । तैपनि उनलाई उत्सुकता जागेछ । सोधिरहिन् । मलाई चिनेको मान्छे पो हो कि भन्ने डर लागिरहेको थियो ।
हजुरको नाम के हो नि ?
प्रोफाइल हेर्नुस् न !
मैले पनि गफलाई रोक्न आवश्यक ठानिनँ या भनौँ मन लागेन । अविवाहित पुरुष हुँ, नजिक भए के नै फरक पर्ला र ! ठानेँ । अनि, मैले कुरा गर्न रोक्नु वा बिदा माग्नु उनको इच्छाविपरीत हुन्थ्यो । त्यसैले पनि कुरा रोक्ने शब्द प्रयोग गरिनँ ।
‘मलाई त पत्रकारिता खासै मन पर्दैन,’ उनले भनिन् ।
‘किन ?’ मैले उत्सुकतापूर्वक सोधेँ ।
आफूले गरेको पेसालाई मन नपराउँदा नरमाइलो लाग्नुपर्ने तर मलाई त्यस्तो भएन । उनले कस्तो कारण दिन्छिन् होला भन्ने कौतुहलता पनि जाग्यो, रोग पत्ता नलागेको बिरामीलाई जस्तै । तर, उनीबाट जवाफ आएन ।
‘तपाईंको चित्त दुख्यो होला है ?’ उनले गल्ती महसुस गरेझैँ गरी सोधिन् ।
‘किन चित्त दुख्नु र ! सबै पेसा सबैको रुचिको पेसा त कहाँ हुन्छन् र ?’
‘मलाई पत्रकारिता मनै नपर्ने त होइन,’ उनले कुरा मिलाउने कोसिस गरिन् ।
‘पत्रकारितासम्बन्धी किताब त मैले अध्ययन गर्ने गर्छु,’ उनले भनिन् ।
‘हो र ? कुन कलेजमा पढ्नुहुन्छ ?’ मैले प्रसंग मिलाएर व्यक्तिगत कुरातिर कुरा मोडेँ ।
पिएन (पृथ्वीनारायण क्याम्पस, पोखरा) मा ।
कुन लेभलमा नि ?
बिएड थर्ड इयर दिएर बसेको । अनि, हजुर नि ?
‘म त सामान्य साक्षर मात्र हो,’ मैले थोरै जिस्किएँ ।
हैन होला ! उनले विश्वास गरिनन् ।
हो–हो ।
नढाँट्नुस् न !
म पनि पिएनमा पढ्थेँ तर छोडेँ ।
‘स्ववियु चुनावबारे हजुरले समाचार लेख्नुभाथ्यो है ?’ उनले मलाई झक्याइन् ।
‘हो । कसरी थाहा भयो त ?’ मैले अचम्म मान्दै सोधेँ । मानौँ, उनले मलाई पछ्याएकी छिन् ।
‘किन र ? हजुर पनि नेता हो कि ?’ मैले सोधँे ।
‘होइन । मलाई राजनीति मन पर्दैन ।’
पत्रकारिता र राजनीति दुवै मन नपराउने व्यक्ति भनेपछि मलाई पनि उनको कुरा मन पर्न छोडेको थियो । तर, सामान्य विद्यार्थीको बुझाइ बुझ्ने मन भयो । कुरा गर्दै जाँदा रातको करिब १ बज्न लागेछ । पहिलोपटकमै हामीले फेसबुकमा लामो च्याट ग¥यौँ ।
भोलिपल्ट बेलुकातिर सदाझैँ फेसबुक खोलेँ । अफलाइन एसएमएस आएको रहेछ ।
‘के गर्दै हुनुहुन्छ ? खाना खानुभो ? निद्रा पुगेन के हो है हजुरलाई ?’ उनैले पठाएको एसएमएस ।
‘म अफिसमा काम गर्दै छु । खाना खाको छैन । निद्रा त पुग्यो,’ मैले जवाफ फर्काएँ ।
अफलाइन एसएमएस आएपछि सोचेँ, यो केटी मसँग नजिकिन चाहेकी छे ।
दिउँसो आफ्नै काममा व्यस्त भइयो । रातको करिब ९ बजेतिर एसएमएस आयो । एसएमएस देखिनु भनेको उनी अनलाइनमा आएको संकेत पनि थियो ।
हाई ! उनले बोलाइन् ।
हजुर ! मैले जवाफ दिएँ ।
अघिल्लो दिनझैँ करिब १२ बजेसम्म कुरा चल्यो । कोठामा गएपछि नेटमा भेट हुने गरी म निस्केँ अफिसबाट । कोठामा पुगेपछि पनि कुरा भए । करिब २ बज्यो रातको ।
मैले उनको र उनले मेरो प्रोफाइल हेर्ने कुरा ठूलो भएन । मैले उनका एक–एक तस्बिरहरू हेरेँ । मानौँ, मागी विवाहका लागि मलाई त्यो केटी देखाइएको छ ।
नाकमा नथ्थी लगाएकी । छोटो कपाल । शरीर ठिकै हो । उचाइ अलि कम । तस्बिरहरू हेर्दा उत्ताउलो पाराकी जस्तो लागेन । नक्कली आइडी हो भन्ने पनि लागेन । कुरा भोलिपल्ट पनि भयो । यसो भनौँ, उनलाई भेट्न मन लाग्यो । सोझै भेट्ने प्रस्ताव पनि आफैँले के राखुँ ! उसैले राखे त हुने हो । कुरा त्यतै मोड्न प¥यो ठानेँ ।
बेलुकातिर च्याटमा पनि निकैबेर कुरा भयो । उनी मसँग कुरा गर्नकै लागि अनलाइनमा आउन थालिन् भन्ने बुझ्न गाह्रो भएन । खाना बनाउँदा समेत कुरा हुने । मैले च्याटमा भनेँ, ‘धेरै लामो समयमा च्याटमा कुरा भयो । यस्तो मान्छेको बोली पनि सुन्न पाए हुने ।’
‘कुनै दिन भेट होला नि !’ उनले भनिन् ।
मैले फोन नम्बर मागेँ । उनले दिइन् । तर, भोलि दिनको १२ बजेतिर मात्र फोन गर्ने गरी । मेरो पनि मागिन् । मै हजुरलाई फोन गर्छु भनेँ र नम्बर दिइनँ ।
भोलिपल्ट १२ बजेतिर मेरो कुनै काम परेकोले फोन गर्न भ्याइन । १ बजेतिर असजिलो लागे पनि फोन गरेँ । फोन उठेन । दोस्रोपटकमा उठ्यो ।
हजुर को बोल्नुभाको नि ? मैले सोधेँ ।
हजुरले कसलाई गर्नुभाको हो नि फोन ? उनले उल्टो प्रश्न गरिन् ।
मलाई असजिलो लाग्यो । यद्यपि, मैले म निरज हो । सपना भन्नेलाई फोन गरेको भनेँ ।
म त सपना होइन– उनले भनिन् । अनि, म समस्यामा परेँ ।
फेरि, फोनमा सोधेँ, ‘हजुर सपना होइन र ?’ उनले साँचो बताइन्, हो भनेर ।
मैले आफूलाई चिनाएँ । तब, हाम्रो फोनमा पनि कुरा हुन थाल्यो । च्याट सकिएलगत्तै हामी फोनमा बोल्ने भयौँ । या भनौँ, फोनमा बोल्न मन लागेपछि हामी च्याट बन्द गथ्र्यौं ।
फोनमा धेरै कुरा भए । हामी एकअर्को बीचमा अति परिचितजस्तै भयौँ फोनमा तर भेटघाट थिएन । अपरिचित व्यक्तिसँग धेरै खुल्नुभन्दा भेटेर चिनजान गर्नु ठीक जस्तो लाग्यो ।
हामीले फोनमा हाम्रा व्यक्तिगत कुरा सबै गरिसकेका थियौँ । मैले उनलाई भेट्ने प्रस्ताव गरेँ । उनले पनि छिटै भेट्ने प्रतिबद्धता जनाइन् । नचिनिकन बोल्नुभन्दा चिनजान गर्नु नै जरुरी लाग्यो । तीन–चार दिनपछि हामी पिएन क्याम्पसमा भेट्नेमा पुग्यौँ । उनको क्याम्पसमा काम भएको बेला म पनि जाने र भेट्ने कुरा पूरा भएन । म क्याम्पस त गएँ तर उनको फोन लागेन । म धेरै समय कुरेर बस्न पनि सकिनँ । बेलुका कुरा भयो । उनले मलाई देखेको बताइन् । मलाई देखे पनि अर्को साथीसँगै भएकाले भेट हुन नपाउने कारण उनले मलाई नभेटेको स्ष्टोक्ति दिइन् । त्यस दिनको ३ दिनपछि हामी भेट हुने भयौँ ।
उनीसँग भेट हुनुपूर्व नै हामीबीच धेरै कुरा भएका थिए । उमेर, पारिवारिक स्थिति र मनस्थिति समेत । मैले उनलाई जिस्काएको पारामा भन्ने गर्थें, ‘भेटौँ, एक अर्कोलाई मन प¥यो भने सम्बन्ध नै गाँसौँला ।’ त्यो दिन भेट्नका लागि म निस्केँ । भेट्ने स्थान पिएन क्याम्पसको गेटनेरै रहेको पन्थीमा तय भएको थियो । म गएँ । फोन गरेँ ।
विचरा ! उनको चप्पल चुँडिएछ र पन्थीकै आडमा सिलाउँदै रैछिन् । एक छिनमा आइन् । तर, अर्को साथी पनि लिएर ।
पहिलो भेटमै इम्प्रेसन पार्न पाएझैँ भएको थियो मनमा । उनीहरूलाई देखेपछि प्रभावित गर्न धेरै कोसिस गर्नु नपर्ला जस्तो पनि लाग्यो ।
‘के खाने ?’ मैले सोधेँ ।
‘भो, केही नखाउँ,’ उनले खान मन नगरेझैँ जवाफ दिइन् ।
उनले त्यसो भन्दा कतै यो केटीले मलाई मन नपराएर त हैन ? झैँ पनि लाग्यो । हैन रैछ । उनले अलि कर गरोस् भन्ने चाहेको जस्तो पनि लाग्यो ।
‘कफी लिउँ न त,’ मैले कर गरेँ ।
कफी पिउँदै कुराकानी सुरु भयो ।
उनीसँग आएको अर्को साथीले शंका नपाओस् भनेर पनि म उनसँग भन्दा उनकै साथीसँग बढी बोलेँ । उनको साथीसँग परिचय पनि भयो । हामी त एक अर्कोसँग परिचित भइसकेका थियौँ ।
साथीको नाम अनु रैछ । अनुसँग बढी गफ गरेँ । सायद, सपना मनमनै मसँग रिसाएकी होली सोच्दै । तर, सपनालाई नै प्रभाव पार्नका लागि हो नि तँसँग बोलेको त ! मनमनै कुरा गरेँ अुनसँग ।
मलाई उनीहरूसँग असजिलो महसुस पनि भएन । अलि धेरै नै राम्रा भए आत्तिने हो, उत्पात राम्री पनि त होइन सपना । अर्कीको त कुरै छोडौँ । जेहोस्, राम्री बन्न मिल्नेसम्म उसले कोसिस गरेको भने प्रस्टै देखिन्थ्यो ।
कफी नसकुन्जेल कुराकानी ग¥यौँ । र छुट्यौँ । भरे बेलुका फोनमा कुरा भयो ।
‘म कस्ती लाग्यो त नि हजुरलाई ?’ उनले सोधिन् ।
‘हजुर त निकै राम्रो लाग्यो मलाई,’ मैले खुसी पार्न कोशिस गदै भनँे–‘यति राम्रो मान्छे त मैले देखेकै थिइन ।’ अरुलाई किन नराम्रो भन्नु र ! अनि, मेरै शब्दबाट उनलाई खुसी मिल्छ भने मैले प्रशंसा गर्न चुक्नु कमजोरी हुने ठानेँ ।
उनले मेरो प्रशंसा झुटो ठानेको भाव व्यक्त गरिन् ।
‘किन हिजो अर्को साथी लिएर आएको ?’ मैले सोधेँ ।
एक्लै आउन डर लागेर नि !
को हो तिनी ?
‘हाम्रो घरमा भाडामा बस्ने बैनी हुन् । मैले उसँग हल्का कुरा सेयर गरेकाले आउने इच्छा देखाइन् र ल्याएको,’ उनले भनिन्, ‘मन प¥यो अनु ? निकै गफ भाथ्यो त !’
म अनुसँग बोलेको उनलाई मन परेको रहेनछ ।
‘अनु मन परे कुरा चलाइदिन्छु क्यारे !’ उनले घुर्की र चासो देखाइन्, ‘अनि, बिहे भो भन्नुभाको होइन ?’
होइन–मैले भनेँ ।
किन ढाँट्नुभाको त ?
नचिनेको मान्छेसँग सत्य कुरा भन्नु आवश्यक नठानेर ।
अनि, मैले मेरो बारेमा सबै कुरा बताएँ । उनले मलाई मन पराएर पनि होइन, मैले उनलाई मन पराएर पनि होइन । तर, हामी कुरा गरिरहेका थियौँ । किनकि, हाम्रो बोलीमा माया बसिसकेको रहेछ ।

 




प्रतिक्रया दिनुहोस:

पाठक विचार

विचार/बिश्लेषण

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka