तराईका लामखुट्टे पहाड र हिमालतिर

सल्यान अनलाइन, कार्तिक १५, २०७५


तराईका लामखुट्टे पहाड र हिमालतिर

 

स्नेहा कर्ण,काठमाडौं । 
नुवाकोटका १७ वर्षका सुनिता सुनार, ज्वरो आउने र टाउको दुख्ने समस्या भएपछि ४ दिनदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना हुनुभएको छ । स्वास्थ्य परीक्षणपछि सुनारलाई डेंगुको लक्षण देखिएको चिकित्सहरुले बताएका छन् । 

 

कालिकोटका दिपक मल्ललाई पनि ज्वरो आउने, टाउको दुख्ने लगाएतका समस्या देखियो । जिल्ला अस्पताल कालिकोटले रोग पत्ता लगाउन नसकेपछि उहाँ काठमाडौं आउनुभएको छ ।

काठमाडौं ढुंगेधाराका कर्ण मगरलाई पनि उस्तै समस्या देखिएको छ । परीक्षणका क्रममा उहाँमा पनि डेंगुको संक्रमण देखिएको छ ।

 

नेपालमा सन् २००४ मा डेंगु रोग देखिएको थियो । शुरुमा तराईका जिल्लामा देखिएको डेंगु अहिले पहाडी र हिमाली जिल्लाहरुमा देखिन थालेको छ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुका कारण नेपालमा वर्षेनी ४० देखि ६० जनाको मृत्यु हुने गरेको छ । साथै हरेक वर्ष ५ सय भन्दाबढि मानिस डेंगुबाट प्रभावित हुने गरेको ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

 

पछिल्ला वर्षहरुमा डेंगु प्रभावितको सङ्ख्या बढ्दै गएको छ । नेपालमा पछिल्लो समय डेंगुका बिरामी बढ्दै गएकोमा चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् ।

 

डेंगुको लक्षणका विषयमा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भन्नुभयो, ‘डेंगुले संक्रमण गरेको हो भनेदेखि ४ देखि १० दिनभित्रमा लक्षण देखिन सुरु हुन्छ । सबैभन्दा पहिला ज्वरो आउने, टाउको दुख्ने आँखाको गेडि दुख्ने, आँखा रातो हुने, जोर्नीहरु दुख्ने हुन्छ ।’

 

संक्रमण बढ्दै गएपछि रक्तश्राव देखिने, पेट दुख्ने, वाकवाक लाग्ने, आलस्य हुने तथा बेहोस समेत हुनसक्ने उहाँले बताउनुभयो । जलवायु परिवर्तनका कारण तराई क्षेत्रमा देखिने डेंगु अहिले धादिङ, बाजुरा, बझाङ, पोखरा सहितका जिल्लाहरुमा पनि देखिन थालेको छ ।

 

तराईसहित हिमाली तथा पहाडी क्षेत्रमा देखिएको डेंगु नियन्त्रणका लागि सरकारको योजना के छ ?

यस प्रश्नमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलले भन्नुभयो, ‘ जहाँजहाँ डेंगुको सम्भावित ठाउँहरु छ, त्यस ठाउँको लागि पहिले केशहरु पत्ता लगाउने र त्यसको उपचार गर्ने एउटा कुरा छ । दोश्रोमा जहाँ डेंगुको लार्भाहरु बस्न सक्ने ठाउँहरु छ, त्यसको लागि सर्च र डिस्ट्रोयको कार्यक्रम सञ्चालन गरिराखेका छौं ।’ 

 

डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने भएकाले घरमा वा घर वरपर पानी जम्न दिनु हुँदैन । घर आँगन र करेसा सफासुग्घर बनाए लामखुट्टेको टोकाईबाट लाग्न सक्ने रोगहरुबाट जोगिन सकिने चिकित्सकहरुले बताएका छन् । http://www.cinnetwork.org




प्रतिक्रया दिनुहोस:

बजार

सल्यान बिशेष

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka