कुलत बन्दै छ सामाजिक सञ्जाल

सल्यान अनलाइन, मंसीर १७, २०७५


केही वर्षअगाडि प्रविधिलाई सबैभन्दा राम्रो उद्योगका रूपमा लिइन्थ्यो । गुगल, फेसबुक र एप्पलजस्ता प्रविधि कम्पनीमा काम गर्न धेरै लालायित हुन्थे । तर, हालका वर्षमा यस्तो धारणामा धेरै परिवर्तन आएको छ ।

प्रविधिलाई सुर्ती उद्योगझैँ हेर्नेहरूकोे संख्या बढ्दै छ । विध्वंसात्मक लत बेचर उनीहरूले अर्बौं डलर आम्दानी गरिरहेका छन् । कतिपय प्रविधि कम्पनी दसौँ लाख मानिसले मन पराउँछन्, तर अन्त्यमा तिनै प्रविधि कम्पनी प्रयोगकर्ताको विनाश गर्ने साधनजस्ता बन्दै गएका छन् । प्रविधि कम्पनीहरू पक्कै पनि विश्वलाई अझ सहज बनाउन चाहन्छन्, तर त्यसका लागि उनीहरू सुरक्षित बाटामा हिँडेको देखिन्न । समाजबाट बहिष्कृत हुनबाट जोगिन उनीहरूले गम्भीरतापूर्वक आवश्यक कदम चालेको कहिले देख्न पाइएला ?

विविध पक्षलाई हेर्दा ठूला प्रविधि कम्पनीले व्यापक आलोचना खेपिरहेका छन् । पहिलो त यस्ता ठूला भनिने प्रविधि कम्पनीले युवावर्गको जीवन बर्बाद गरिरहेका छन् । त्यसमा पनि सामाजिक सञ्जाल सबैभन्दा खतरनाक साबित भएको छ । सामाजिक सञ्जालले एक्लोपन हटाउने वाचा गरे पनि वाचाविपरीत थप एक्लोपन बढाएको छ भने वास्तविक समाजबाट युवापुस्तालाई निष्कासित नै गरेको छ ।

टेक्स्टिङ तथा अन्य प्रविधिले प्रयोगकर्ताको अनलाइन सामाजिक अन्तक्र्रियामा नियन्त्रण बढाउँछ, तर त्यस्ता अन्तक्र्रिया मूलतः सामान्य विषयवस्तुसँग सम्बन्धित हुन्छन् । यसर्थ, वास्तविक विश्वसँगको सम्बन्ध र लगाव भने कम हुँदै जान्छ । लेखक जिन ट्वेन्जले उनको पुस्तकमा उल्लेख गरेझैँ स्मार्टफोनको व्यापक प्रयोग भएयता किशोर–किशोरी आफ्ना वास्तविक साथीसँग कमै मात्र घुलमिल हुने गरेको देखिन्छ । उनीहरूले ‘डेटिङ’ जान र दैनिक काममा थोरै रुचि राख्न थालेका छन् ।

आठ कक्षामा अध्ययन गर्ने विद्यार्थीले सामाजिक सञ्जालमा हप्ताको १० घन्टा वा सोभन्दा बढी समय बिताएको खण्डमा कम समय बिताउने विद्यार्थीभन्दा उनीहरू बढी दुःखी र तनावमा रहन्छन् । सामाजिक सञ्जालमा अत्यधिक समय बिताउने यो उमेर समूहका विद्यार्थीमध्ये २७ प्रतिशतलाई डिप्रेसन हुने खतरा हुन्छ । विद्युतीय डिभाइसमा दिनको तीन घन्टा वा सोभन्दा बढी समय बिताउने किशोर–किशोरीमध्ये ३५ प्रतिशतले आत्महत्याको मनस्थिति बनाउन सक्ने खतरा हुन्छ । सामाजिक सञ्जालमा बढी समय बिताउने किशोरीमध्ये ५० प्रतिशतमा डिप्रेसनका लक्षण भेटिने खतरा हुन्छ ।

प्रयोगकर्ताको यही लतलाई सामाजिक सञ्जाल सञ्चालन गर्ने ठूला कम्पनीले पैसा कमाउने बाटो बनाएको भनेर भइरहेको उनीहरूको आलोचना पनि जबर्जस्त बनिरहेको छ । प्रयोगकर्ताको मस्तिष्कलाई कसरी लठ्याउने भन्नेबारे यस्ता प्रविधि कम्पनीलाई राम्रो जानकारी छ । यसकारण, आफ्ना उत्पादनप्रति प्रयोगकर्तालाई अनिवार्य रूपमा फन्दामा पार्न उनीहरूले विशेष उपाय अपनाएका हुन्छन् ।

उदाहरणका लागि स्नापच्याटले साथीलाई प्रत्येक दिन स्नाप गर्ने प्रयोगकर्तालाई स्नापस्ट्रिकको व्यवस्था गरेको छ । जसका कारण प्रयोगकर्ताको संख्या बढ्दा उनीहरूलाई ‘रिवार्ड’ दिने गरेका छन् । कुन वेला कस्तो अफर आउने हो भन्नका लागि प्रयोगकर्ता अनिवार्य रूपमा उनीहरूले देखाएको प्रलोभनमा पर्ने गरेका छन् । अधिकांश सामाजिक सञ्जाल तथा सामाजिक मिडिया साइटले प्रयोकर्तालाई निश्चित रूपमा लोभ्याउने भरपर्दो उपाय अपनाएका छन् ।

यसैगरी, एप्पल, अमेजन, गुगल र फेसबुकजस्ता कम्पनी एकाधिकार नजिक पुगेको भनी आलोचना हुने गरेको छ । प्रयोगकर्ताको निजी जीवनमाथि आक्रमण गरेर यी कम्पनीले आफ्नो बजार बढाइरहेका छन् । साथै, कन्टेन्ट क्रिएटर साना प्रतिस्पर्धीमाथि अनुचित सर्त लादेका छन् । यस्तो स्थितिमा प्रविधि क्षेत्रमै काम गर्ने वास्तविक रक्षकको संख्या थोरै छ । प्राविधिक कम्पनीमा देखिएको प्रदूषण हटाउने प्रयास उनीहरूले गरिरहेका छन् । ‘टाइम वेल स्पेन्ट’ कम्पनीका ट्रिस्टन ह्यारिसजस्ता अभियन्ताले प्रविधि कम्पनीलाई सही दिशामा हिँडाउने प्रयास गरिरहेका छन् ।

यसका लागि केही आशावादी इन्जिनियरिङ प्रयास पनि भएका छन् । आफूले मोबाइलफोन कति प्रयोग गरिँदो रहेछ भन्ने ट्र्याक गर्न तथा मोबाइल फोनको प्रयोग नियन्त्रण गर्न मोमेन्ट नामक एप्लिकेसन प्रयोग गर्न थालेको छ । तर, ठूलो परिवर्तन त्यो वेला मात्र सम्भव छ, जब ठूला प्रविधि कम्पनीका प्रमुखले वास्तविकतालाई स्विकारेर अघि बढ्ने इच्छाशक्ति राख्नेछन् । सतही चेतना आवश्यक पर्ने काम तथा रमाइलोका लागि उनीहरूको प्रविधि अत्यन्तै उपयोगी छ, तर यिनले गहन चेतनालाई बढाउन सक्दैनन् ।

अर्कातर्फ, मानवीय सञ्चार गर्ने थलो अनलाइन हो, आत्मीयता बढाउने थलो हैन । सूचना प्राप्त गर्ने थलो अनलाइन हो, गम्भीर विचार विचरण गर्ने थलो अनलाइन होइन । अन्वेषण गर्ने थलो अनलाइन हो, तर एकरूपता बढाउने थलो अनलाइन होइन । अनलाइनले प्रयोगकर्ताको ध्यान नियन्त्रण गरेर अनावश्यक ठाउँमा यसलाई छरिदिन्छ । तर, हामी त्यो अवस्थामा मात्र खुसी हुनेछौँ जब हामी हाम्रो वास्तविक लक्ष्यमा ध्यान लगाउन सफल हुनेछौँ । हाम्रो ध्यान बिथोल्ने यस्ता तत्वभन्दा बाहिर निस्किएर विश्राम गर्नुपर्ने सुझाब लेखक रवि अब्राहम जोसुआ दिन्छन् । यिनको प्रयोग बन्द गरेपश्चात् हामी चेतनाको फरक तहमा पुग्नेछौँ । हामीले समयको फरक आयाम र भिन्न वातावरणको अनुभव गर्नेछौँ ।

अझ भन्नुपर्दा, हाम्रो जीवनका लागि उत्कृष्ट पक्ष उपलब्ध गराउनेतर्फ प्रविधिको ध्यान गएको देखिन्न । प्राविधिक आविष्कारले सामान्य काममा खर्च हुने हाम्रो समय बचत गराउन सक्नुपर्छ जसका कारण हामी अफलाइन रहेर जीवनको उत्कृष्ट अनुभव लिन सकौँ । कल्पना गरौँ, यसरी हामी अघि बढ्न सके आजको दिनमा देखिएको समस्याग्रस्त प्रविधिले भोलिका दिनमा वास्तविकतावादलाई परावर्तित गर्न सकोस् ।

 




प्रतिक्रया दिनुहोस:

बजार

सल्यान बिशेष

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka