दार्मा गाउँपालिकाद्धारा एक सय असी वेरोजगार युवालाई रोजगारी

सल्यान अनलाइन, जेठ ३०, २०७६


दार्मा गाउँपालिकाद्धारा एक सय असी वेरोजगार युवालाई रोजगारी

जेठ ३०, सल्यान । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत दार्मा गाउँपालिकामा झन्डै दुई सयले रोजगार सृजना भएको छ । दार्मा गाउँपालिकाका १ सय ८० युवाले चालु आर्थिक वर्षको एक महिना रोजगार पाउने भएका छन् । 
बुधबार दार्माको फारुलाचौरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कामका  लागि परिश्रमिकमा आधारित सामुदायिक आयोजनाको उद्घाटन गरिएको छ । पहिलो चरणमा ६ वडाबाट ३० जनाका दरले एक सय ८० जनालाई रोजगारी सृजना गरिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । एक महिनाका लागि झन्डै २९ लाख बजेट विनियोजन गरिएको उनको भनाई छ । उनले भने ‘पहिलो चरणमा १ सय ८० जनालाई रोजगार सृजना गरेका छौं । आयोजनामा ५ सय ७५ का दरले दैनिक पारिश्रमिक पाउने छन् ।’
६ वटै वडाबाट योजना छनौट भई कार्यन्वयनको चरणमा रहेको रोजगार संयोजक किरण गौतमले बताए । कार्यक्रममा गाउँपालिकाले श्रमिकहरुका लागि आवश्यक औजार समेत प्रदान गरेको छ । 
श्रमिकको ज्याला बापतको रकम वैक खाता मार्फत भुक्तानी गरिने गौतमले बताए । कामका  लागि परिश्रमिक सामुदायिक योजनाहरुलाई दिगो एवं उपलब्धिमुलक बनाउन नियमित अनुगमन गरिने बताए । 
यस वर्ष सरकारले २९ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसको न्युनतम ७० प्रतिशत रकम श्रमिकको ज्यालामा खर्च गरिने गरी योजना सञ्चालन कार्यविधि सरकारले ल्याएको छ । गाउँपालिकाभर ४ हजार ५ सय ७ जनाले बेरोजगार फारम भरेका छन् । 




प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka