१२ बुँदे समझदारी गर्ने बेलामा भारतको कुनै पनि संलग्नता थिएन : नेता नेपाल

सल्यान अनलाइन, भाद्र २२, २०७६


१२ बुँदे समझदारी गर्ने बेलामा भारतको कुनै पनि संलग्नता थिएन : नेता नेपाल

भदौ २२, २०७६ काठमाडाैं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल राजनीतिक दल र बिद्रोही माओवादीबीच भारतमा भएको १२ बुँदे समझदारीमा भारतको कुनै पनि संलग्नता नरहेको दावी गरे। 

नेकपाका विदेश विभाग प्रमुख समेत रहनु भएका नेता नेपालले भारतको संलग्नतामा सो १२ बुँदे समझदारी भएको भन्ने भनाईको कडा प्रतिवाद पनि गरे। आइतबार लक्ष्मण पन्तद्बारा लिखित ‘नेपाल, भारत र छिमेकः चार दशकका मुख्य घटना’ नामक पुस्तकको काठमाडौंमा विमोचन गर्दै उनले तत्कालीन सात राजनीतिक दल र बिद्रोही माओवादीसँग १२ बूँदे समझदारी गर्दा भारतसँग कुनै परामर्श समेत नगरिएको स्पष्ट पारे। सो समझदारीका लागि तत्कालीन माओवादी बिद्रोहका सुप्रिम कमाण्डर पुष्पकमल दाहाललाई सहभागी गराउन आफ्नो नै मुख्य भूमिका रहेको पनि नेता नेपालको भनाई छ। नेता नेपालले नारायणकाजी श्रेष्ठलाई आफूले बोलाउन पठाएपछि दाहाल सो समझदारीका लागि दिल्ली आएको पनि खुलासा गरे। कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई पनि आफूले टेलिफोन संवादमार्फत् वार्तामा बोलाएको नेता नेपालले बताए। सो तथ्य पुस्तकमा नआएकोमा नेता नेपालको असन्तुष्टि पनि छ।

नेता नेपालले समझदारीका लागि तत्कालीन नेकपा एमालेको महासचिवको तर्फबाट आफूले, कांग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौला र बिद्रोही माओवादीको तर्फबाट डा. बाबुराम भट्टराईले सो १२ बूँदे समझदारीका लागि खेस्रा तयार पारेको पनि बताए। वरिष्ठ नेता नेपालले भारतको परामर्शमा तत्कालीन बिद्रोही माओवादीसँग दिल्लीमा १२ बुँदे समझदारी नभएको यस अघि पनि बताए। उनले भने,' ट्वाइलेटभित्र गएर कसैले भारतका कुनै पनि नेतासँग टेलिफोन संवाद गरेको भए आफूलाई थाहा भएन। तर सो सम्बन्धमा भारतसँग कुनै पनि परामर्श गरिएको थिएन।' 
 




प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka