ती वर्षमान, यी वर्षमान

सल्यान अनलाइन, मंसीर १६, २०७५


ती वर्षमान, यी वर्षमान
  • नीमबहादुर बुढाथोकी

०४६ को जनान्दोलनपछि देशमा बहुदलीय व्यवस्था कायम भयो । ०४८ सालमा संसदीय चुनाव भयो । प्रतिनिधि सभाको २ सय ५ सिटमध्ये तत्कालीन नेकपा (एकता केन्द्र) को वैधानिक मोर्चा संयुक्त जनमोर्चाले ९ सिटमा विजय हासिल गरेको थियो । ०४८ को चुनावमा अहिलेका सभामुख कृष्णबहादुर महरा रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो

निर्वाचित सांसद भए पनि महरा सर आर्थिक रुपमा सङ्कटकै सामना गरिरहनुभएको रहेछ । त्यतिबेला नेताहरु पनि आदर्श नै स्थापित गर्न लडिरहेका थिए । अहिलेजस्तो आर्थिक चलखेलमा तत्कालीन कांग्रेसका नेताहरुसमेत खुलेर देखिएका थिएनन् । हामीजस्ता कार्यकर्ता त झन् आर्थिक रुपमा यति कमजोर थियौं कि कालो चियासमेत अरु कसैको प्रायोजनमा खाइन्थ्यो ।

पार्टी कामकै सिलसिलामा महरा सरसँग दाङ जानु पर्ने भयो । तर, खर्चबर्चको अभाव चरम थियो । नेताकै भर गरेर कार्यकर्ता हिंड्थे । भए जे छ बाँडेर खाइन्थ्यो, नभए सबै भोकै सुतिन्थ्यो । नेताप्रति अथाह भरोसा थियो । आफू अघाएर कार्यकर्तालाई भोकै पार्ने र आफू सिरक ओढेर कार्यकर्तालाई जाडोमा ठिउठिउ कमाउने चलन त्यतिबेला थिएन ।

महरा सरसँगको दाङसम्मको त्यो यात्रामा म र सल्यानका भीमप्रकाश शर्मा थियौं । त्यतिबेला बाहिरी रुपमा म विद्यार्थी संगठनमा आबद्ध भए पनि पार्टी कमिटीको सदस्य बनिसकेको थिएँ । काठमाडौंबाट हिंडेका हामीलाई दाङको घोराहीसम्म पुग्नु पर्ने थियो । तर घोराहीसम्म पुग्नका लागि महरा सरसँग पनि भाडा रहेनछ । घोराहीसम्मको भाडा तिर्ने पैसा नभएकाले हामी दाङको लमहीसम्म नाइट गाडी चढेर पुग्यौं ।

लमही त पुगियो अब घोराही जाने भाडा थिएन । संयोगबश त्यतिनै बेला महरा सरसँग परिचित जिविसमा कार्यरत एकजना कर्मचारीसँग भेट भयो । लमहीबाट घोराहीसम्म उनले ‘ड्रप’ गरिदिए । हामी तीनै जनालाई भोक लागिरहेको थियो । खानाखान त कता हो कता नास्तापानीका लागिसमेत ‘सुको’ कोहीसँग थिएन । महरा सरले केही समय भोक खप्न भन्नु भयो । हामीसँग अर्को विकल्प पनि थिएन ।

महरा सरले घोराहीको टेलिकम टावरको पछाडि अवस्थित गुदरी बजारमा रहेको एक जना साथीको कोठामा लग्नुभयो । ती साथी एउटा ‘किचेन’ र एउटा ‘बेड’ गरी दुई वटा कोठा लिएर बसेका रहेछन् । उहाँको नाम रहेछ– वर्षमान पुन । उहाँले खानापिनाको राम्रो बन्दोबस्त मिलाउनु भयो ।

खानापिनापछि हामीबीच तत्कालीन राजनीतिका बारेमा छलफल भयो । त्यतिबेला वर्षमान पुन, जो पछि ‘अनन्त’ का नामले पनि चिनिनुहुन्छ, उहाँले महरा सरसँग सोधेको विषय सम्झँदा मलाई कहिलेकाहीं एक्लै पनि हाँसो उठ्छ । कुराकानीकै क्रममा उहाँले महरा सरलाई सोध्नुभयो– महरा सर यो ‘सुइँत्त जनमोचा’ भनेको के हो ? यसले के गर्छ ? आदि । हामी त पार्टीका संगठित कार्यकर्ता भइसकेका थियौं । वर्षमानलाई पनि राजनीतिप्रति रुचि रहेछ भन्ने मलाई लाग्यो ।

त्यतिबेला हामी सबैमा पनि हरेक राजनीतिक शब्द र घटनाप्रति ज्यादा उत्सुकता हुन्थ्यो, वर्षमानमा पनि त्यो चेतना प्रचूर रहेको आभाष मलाई भयो । राजनीतिमा सपना देख्ने सम्भावना बोकेका धेरै युवामध्ये उहाँ पनि भएको मलाई पनि लाग्यो । पछि महरा सरसँग पनि उहाँको राजनीतिप्रतिको उत्सुकताबारे छलफल भयो । महरा सरले त झन् उहाँ (वर्षमान) लाई विद्यालयमा पढाउनु भएको रहेछ ।

ठ्याक्कै मिति त विर्सिएछ तर यो ०४८ असोज–कार्तिकतिरको कुरा हो । केही सांगठनिक काम पूरा गरेर महरा सरसँग दाङबाट छुट्टिनु पर्ने थियो । महरा सरलाई दाङबाट रोल्पा, मलाई रुकुम र भिमप्रकाशलाई सल्यान पुग्नु पर्ने थियो । दाङसम्म त महरा सरको फेर समातेर पुगियो । त्यहाँदेखि उता पैसाको जोहोसमेत आफै गर्नुपर्ने थियो । साथीभाइ र आफन्तको सरसहयोग लिएर हामी आ–आफ्नो गन्तव्यतिर लाग्यौं ।

जनयुद्धको आँधीबेहरीसँगै बर्षमान पुन ‘अनन्त’ ले पनि आफूलाई अघि बढाए । पछिल्लो समय रोल्पा–रुकुमका प्रायः सबै नेता देशको महत्वपूर्ण पदहरुमा रहँदै आएका छन् । उनीहरुमध्ये कतिपय निरन्तर मन्त्री बन्दै आएका छन् । महरा सर त पुरानै नेता हो । २०५०/०५२ पछि मात्र संगठित भएका बर्षमान पुन, ओनसरी घर्ती पछिल्लो समय प्रायः सधैं मन्त्री वा सभामुख रहँदै आएका छन् । रुकुमबाट जनार्दन शर्मा ‘प्रभाकर’ पनि यो मामिलामा रोल्पालीको पदचाप पछ्याइरहेका छन् । जाजरकोटका शक्तिबहादुर बस्नेत र टेकबहादुर बस्नेत पनि यो प्रक्रियाबाट टाढा छैनन् । जनयुद्धको तयारीपूर्वदेखि निरन्तर र इमान्दारीपूर्वक लागेका धेरै पुराना नेता–कार्यकर्ता सामान्य जीविकोपार्जनको समस्याले भौंतारिइरहेको अहिलेको यथार्थ हो । अरुको त कुरा छाडौं, जनयुद्धमा घाइते भएका कतिपय कार्यकर्ता अहिले अरबमा मरुभूमिमा नारकीय जीवन गुजार्न बाध्य छन् ।

अरु नेताहरुजस्तै व्यक्तिगत हिसाबले बर्षमान पुनसँग पनि मेरो केही नराम्रो छैन । उहाँलाई ०४८/०४९ सालतिर जाजरकोटका चित्रजङ्ग शाही र दाङका अमर गिरीले संगठित गरेका हुन् । अहिले परिस्थिति बदलिएको छ । हिजो आफूलाई संगठित गर्ने ‘नेता’लाई अहिले उदायका कतिपय नेताहरु भेट्नसमेत मान्दैनन् । व्यक्ति रुपमा उनीहरुलाई लिनु केही छैन । पार्टी र सरकारलाई दिनखोजेको सुझावसमेत सुन्ने रुचि उनीहरुलाई छैन । यो स्थानीयदेखि केन्द्रसम्म रहेका सरकार र नेताहरुकै समस्या हो ।

सङ्कटकाल हुँदै पछिसम्म पनि महरा सरसँग सहकार्य भइरहेको छ । भन्नेहरुले के–के भन्छन्, उहाँका कुरा के हुन् मलाई त्यसबारे खास भन्नु छैन । एउटै मात्र कुरा चाहिं मेरो मानसपटबाट कहिल्यै हट्न सकेको छैन । मैले माथि व्यक्त गरेको स्मरण एउटा वास्तविकता थियो । हामी सबैमा जनता र देशका लागि केही गर्नुपर्छ भन्ने उत्कट अभिलाषा थियो । महरा सर, वर्षमान पुन र मजस्ताको योगदान र हजारौंले बलिदानले आजको परिवर्तन भएको हो । देशमा राजनीतिक लगायतका केही न केही परिवर्तन त भएको छ । तर, हामीहरुले देखेका सपना अझै अधूरै छन् ।

जनयुद्धअघि रोल्पामा बालाराम घर्ती मगर भन्ने पात्रले जे भन्यो त्यो मात्र हुन्थ्यो । रुकुममा गोपालजीजंग शाहको शासन थियो । जनयुद्धले रोल्पा–रुकुमबाट उनीहरुको हैकम खत्तम पा-यो । बलिदानीको जगमा एकसेएक जुझारु नेताहरु जन्मायो । म अस्तिमात्र आफ्नो घर रुकुम गएर फर्किएँ । नेपालगञ्जमा केही दिन बसें । त्यसक्रममा रोल्पा, रुकुम, सल्यान र जाजरकोटका पुराना साथीभाइसँग भेटघाट र कुराकानी भयो । सबैमा एक प्रकारको असन्तुष्टि भेटियो । रुकुमका गोपालजीजंग शाह, रोल्पाका बालाराम घर्ती र जाजरकोटका तेजविक्रम शाहको राजनीतिक पकड सकिए पनि उनीहरुकै अनुहारको झझल्को आउने काम नयाँ नेतृत्वले नगरोस् भन्ने प्रायः सबै साथी कानेखुशी गरिरहेका थिए ।  साभार : जनदिशा




प्रतिक्रया दिनुहोस:

ब्लग

विचार/बिश्लेषण

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka