सुन्तला गाउँको सौन्दर्य

सल्यान अनलाइन, आषढ २१, २०७६

सुन्तला गाउँको सौन्दर्य

Pratik sharma- प्रतीक इच्छुक शर्मा                                                                                       (डायरी)

दक्षिण पश्चिम फर्किएको पाखो । पाखाभरि सुन्तलाको बगान । बगानभित्र चिटिक्क परेका परम्परागत ढुङ्गे घरहरु । घरका झ्याल, छाना र आँगन एकले अर्कोलाई अंकमाल गरेका सुन्तलाका बोटहरु । पात र फल छुट्याउनै धौ पर्ने गरी लटरम्म फलेका सुन्तला । सुन्तलाले नै उज्यालिएको पहेंलपुर गाउँ ।

यस्तो दृश्य सल्यान कोटमौला– ५ भाङ्गाचौर र वडा नं. ६ डाँगीगाउँको हो ।

भूँइ नै छोइने गरी लटरम फलेका सुन्तलाले गाउँ नै रंगिएको छ । वैज्ञानिक तवरले गरिएको बगैंचा ब्यवस्थापनले पनि मनमोहक बनाइदिएको छ । मेरो लागि त्यो सौन्दर्यताको बयान यो लेखनमा उतार्नु कठीन छ । यति भनूँ, आजभोलि कोटमौला पुग्ने जो कोहीलाई सुन्तला सौन्दर्यले मोहनी लगाउँछ । र, केही गरौं भन्ने ऊर्जा लिएर फर्कन्छ ।

Suntala_salyan 1जिल्ला कृषि विकास कार्यालय सल्यानबाट मंसिरको २७ गतेका लागि कोटमौला जाने निम्तो प्राप्त भयो । दुई दिन पहिले नै प्राप्त पत्रको स्वीकारोक्ति मैले कृषि कार्यालयका प्राविधिक सहायक पृथ्वी लामिछानेलाई गराइसकेको थिएँ । मैले धेरैपल्ट कोटमौलामा गरिएको सुन्तला खेती र सुन्तलाको चर्चा सुनेको थिएँ ।

जिल्लाभित्र नै भ्रमण गर्न नसक्नुको पीडा साँच्चै अरुभन्दा धेरै हुँदो रहेछ । २६ वर्षको उमेरसम्म लाग्दै गर्दा धेरै गाउँ, जिल्ला, अञ्चल घुम्ने मौका मिले पनि आफ्नै जिल्लाभित्रका धेरै गाउँ घुम्न पाएको छैन । सर्सर्ती घुम्नु, गाउँ÷ठाउँ चिन्नु, नाम थाहा पाउनुले मात्र कहाँ पुग्दोरहेछ र ! कुनै गाउँ÷ठाउँको जीवनशैली, जिउने कला र उनीहरुले गरेका क्रियाकलाप । उत्पादनका लागि गरेको संघर्ष, वैज्ञानिक प्रयोग र प्राप्त उपलब्धिको खोजी गरिनुपर्दो रहेछ ।

***

खलंगाबाट सुरु भएको हाम्रो यात्रा राप्ती लोकमार्गको बागचौरबाट छुट्टिएर शारदा खोला पार गरी उकालो चढ्यो । मौसम चिसो र बिहानको समय । खलंगाबाट बिहान सवा ७ बजे हिडेका हामीलाई कोटमौला पुग्न दुई घण्टा लागेछ । हामी थियौं– जिल्ला कृषि कार्यालयका बागबानी अधिकृत शेरबहादुर वली, प्रास पृथ्वीराज लामिछाने, कर्मचारी पदम केसी र म ।

Suntala_salyan 2जब हाम्रो गाडी कोटमौला कोटमा रहेको गाविस भवन भएर गाउँतिर सोझिएको कच्ची सडकमा गुड्न थाल्यो । भित्ताभरि रंगिएको दृश्यले हामी सबैलाई ध्यानाकर्षण ग¥यो । त्यो थियो– सुन्तलाले पाकेर पहेंलपुर भएको कोटमौला वडा नं. ५ र ६ को ग्रामीण बस्ती । कोटमौला पुग्न कृषि सडक निर्माण गरिएको रहेछ । कच्ची कृषि सडकलाई आधार बनाएर कृषकहरुले आफ्नै लगानीमा सुन्तलाको बगानसम्म मोटरबाटो पु¥याएका रहेछन् ।

हामी कोटमौला–५ का भरतनाथ योगीको घरमा पुग्यौं । निकै जाँगरिलाजस्ता लाग्ने योगी हाम्रो स्वागतको लागि बगानभित्र रहेको घरबाट बाटोसम्म आइपुगे । गाडी बगान छेऊमा रहेको सानो पार्किङमा अड्याउन नपाउँदै ‘लौ लौ घर जाउँ’ योगीको वाक्य छुटिसकेको थियो ।

अरु साथीहरु फटाफट झर्दै गर्दा मलाई भने ती सब दृश्य जादूझैं लागिरहेको थियो । सुनेको थिएँ– विश्वास गरेको थिइनँ । सुनेर मात्र कहाँ देखेको जस्तो हुन्छ र भन्या । सुन्तला खेती त होला । यात्रामा कृषिका हाकिम सावहरुले भनेजस्तो खै के होला र ? मेरै मनभित्रको प्रश्न त कहाँ पुग्यो । म सोचिरहेको थिएँ । गरे असम्भव केही रहेनछ ।

***

बगैंचा भित्रभित्रै घरसम्म जाने सानो गोरेटो बाटो । बाटो नभनौं, बगैंचा भित्रै घर । म बगैंचाभित्र पसेर डिलतिर पुगें । तलतिर हेरेको त खोल्साखाल्सी, ढुङ्गा, चुच्चाचाच्ची जमिनको कुनै भाग खाली छैन– सबैतिर सुन्तलै सुन्तला । ‘ए बा यो के अजीव जात हो सुन्तला भन्ने जहाँ पनि हुने । जस्तामा पनि उम्रिने । फल्ने । एउटा बोटमा पचास–सय होइन, हजार दाना पो फलेका । एउटै बोटमा चार क्वीन्टलसम्म फलेको छ भन्दै थिए किसानहरु ।

झोलामा रहेको मुभी क्यामेरा र स्टील क्यामरा पहिले नै हातमा लिइसकेको मैले धित मरुन्जेल फोटो खिचिरहें । मेरो ढिलासुस्ती भरतनाथलाई मन परेनछ कि क्या हो घरभित्र पाहुना लिएर पसेका उनी कराउँदै आए । ‘लौ है पत्रकार भाई भित्र जाउँ । भैसीको दूध उमालेको छु ।’

मौसममा आएको बदलावले घाम लागेको थिएन । फाट्टफुट्ट पानीका थोपाहरु बर्सिन थालेका थिए । घाम लाग्ने र उज्यालोमा फोटो खिच्ने अपेक्षा हामीले गरेका थियौं ।

घरभित्र छिर्नेबित्तिकै हातमा थमाइएको दूधको बटुको लिदै मैलै सोधिहालें– ‘तपाईंले भैंसी पनि पाल्नु भएको छ ? यो मेरो भरतनाथसँग गरिएको पहिलो प्रश्न थियो । उनले भैंसी पालेको छु । एउटा होइन दुइटा भनेर शुरु गरेको बोल्ने क्रम २०३९ सालदेखि २०७१ मंसिर २७ सम्म आएर मात्र अडियो ।

***

Suntala_salyan 6‘३० वर्ष पहिले कोटमौलामा जयबहादुर चन्दले मात्र केही सुन्तला आफ्नो बारीमा लगाएका थिए । उनी अगुवा र मेहनती कृषक थिए । आफूसँगै चन्दले अरुलाई कृषि गर्न उत्साह र प्रेरणा दिन्थे । उनले नर्सरी पनि स्थापना गरेका थिए । उनको नर्सरीमा अमिलो, सल्लालगायत विभिन्न जातका बेर्नाहरु पाइन्थे । जयबहादुर नै यो क्षेत्रका गुरु हुन् ।

मलाई २०३९ सालमा पहिलो पटक सुन्तला रोप्न भनेर कम मूल्यमा ५५ वटा बेर्ना दिएका हुन् ।’

भरतनाथले विगत कोट्याए, ‘आफू जोत्न अल्छी गर्ने भएकाले पनि अन्नबाली उत्पादन हुने बारीमा बेर्ना रोपेको थिएँ । २१ वर्षको उमेरमा खेती गरेको भनेर तिनै चन्दले मलाई पाँच वटा बेर्ना उपहार दिएका थिए । मैले गाउँका मुखिया, तालुकदारको घरमा सुन्तला, कागती लगाएको देखेको थिएँ । हामीले लगाए पनि त होला भनेर मैले सुन्तला खेती शुरु गरेको हुँ ।

अहिले योगीको ४६ रोपनी जग्गामा १ हजार बढी सुन्तलाको बिरुवा रहेका छन् । बार्षिक १८ लाख ५० हजार बराबरको आम्दानी हुने खुसीका साथ उनले भने । २०५२ मा २ हजार २ सय कमाइ गरेको थियो । त्यो समयमा सुन्तला बिक्री गरेर कमाएको रकम धेरै हो ।’

२०५२ सालदेखि कोटमौलामा परिवर्तन भएको हो । जतिबेला कृषि विकास अधिकृत रामप्रसाद पुलामीले सल्यानमा कार्यरत रहेका थिए । अदुवा र सुन्तलाका लागि कृषि कार्यालयले कोटमौलामा २०४३÷०४४ मा प्रारम्भिक अनुगमन गरेको थियो । तर यसको ब्यावहारिक कार्यान्वयन भने पुलामीले गर्नुभएको कृषकहरुले बताए । पुलामी सरले नै फलफूल खेती गर्न सिकाउनुभएको हो । कृषि खेतीका लागि कोटमौलाका कृषकलाई सक्रिय बनाउनु भएको हो । धेरै कृषकले पुलामीको नामै लिएर धेरै पटक–पटक सम्झिए । उनलाई सम्झनुको कहानी स्थानीय ७६ वर्षीय वृद्ध धनीबहादुर चन्दले सुनाउँदै भने, ‘रात दिन नभनी किसानका घरमा पुग्थे । सम्झाउँथे । गोडमेल, काँटछाँट, मलखाद आदि बारे बारीमै पुगेर काम गरे । गाउँमै जमेर बसे । एक कृषकहरुले ५० भन्दा धेरै रोप्नुपर्ने उर्दी लगाए । त्यसो नगरेको भए हाम्रो अहिले जस्तो हुने थिएन ।

Suntala_salyan 4कोटमौलाका दुई वडामा रहेका डाँगीगाउँ र भाङ्गाचौर गाउँमा रहेका प्रत्येक घरमा २ सयदेखि १ हजार ५ सयसम्म सुन्तलाका विरुवा खेती गरिएको छ । कागती, अमिलालगायतका अन्य फलफूल खेती कोटमौलामा सामान्यजस्तै छ । घर–घरमा बगैंचा र नर्सरी स्थापना नगरेका कृषक नै पाइदैनन् । अहिले कागती, सुन्तलालगायत अमिलो जाति, अनार, स्थानीय जातका विरुवासहितका नर्सरीहरु घर–घरमा स्थापना गरिएका छन् । असार, साउनको समय पनि अहिलेजस्तै चहलपहलले भरिभराउ हुन्छ कोटमौलामा । अहिले सुन्तला लिन व्यापारीहरु घरमै पुग्छन् । प्रतिकिलो रुखैमा ४० रुपैयाँमा किनेर लैजान्छ ।

युवाहरु वैदेशिक रोजगारीमा हैन कृषिका विभिन्न नयाँ–नयाँ प्रयोगमा व्यस्त रहेका छन् । स्थानीय शान्ति समितिका पूर्वसचिव तथा कार्यालय प्रमुख प्रकाश डाँगी एमए अध्ययनरत विद्यार्थी हुन् । उनले यो वर्ष मात्र ५० हजार सुन्तला र कागती बेर्ना नर्सरीमा राखेका छन् । उनले भने– अनार, अम्बालगायतका अन्य प्रजाति फलफूलका विरुवाका बेर्ना तयार गरिरहेको छु । यो वर्ष मात्र बेर्ना बिक्रीबाट २० लाख आम्दानी गर्ने लक्ष्य लिएको छु । बेर्ना लिन पनि छिमेकी जिल्ला रुकुम, दाङ, रोल्पा, जाजरकोटका साथै बाँके बर्दिया, सुर्खेत र दैलेखसहित विभिन्न जिल्लाबाट यहाँ आउने गर्दछन् ।

जब गाउँमा रहेका कृषकहरुकहाँ पुग्न अवसर मिल्यो । कृषकहरुका कुरा सुन्दै गर्दा उनीहरुको आत्मविश्वास सलाम गर्नलायक थियो । भर्खरमात्र प्लस टू पास गरेका २१ वर्षीय विवेक वलीले तयार गरेको तरकारी फाराम नमूनायोग्य छ । उनले यो वर्ष मात्र बन्दागोभीका ५० हजार बेर्ना लगाएका छन् । आफ्नो जग्गासहित लिजमा लिएर उनले थालेको तरकारी खेती देख्दा हाम्रो माटो पैसा उत्पादनको फ्याक्ट्रीझैं लाग्थ्यो । जागिरका लागि भौतारिनेहरुले एकपटक कोटमौलाका किसानहरु पढ्न जानुपर्छ ।

यो ठाउँ अनुसन्धान केन्द्रभन्दा कम छैन । घरका अगाडि स–साना आकारका मनै लोभ्याउने नर्सरी । नर्सरी प्लाष्टिकले ढाकिएका । नर्सरीका ¥याक । महिलाहरुको कृषि पेसाप्रतिको लगाव । वडा नम्बर ६ की पार्वती डाँगीको जोश जाँगर होस् या वैदेशिक रोजगारीमा गई हण्डर खाएर फर्र्किएका दिपक चन्द नै । सबैले कृषि व्यवसायमा जीवन देखेका छन् । उन्नत बीउबिजन, मलखाद, नयाँ कृषि प्रविधि, सिचाइजस्ता चुनौती भए पनि माटो बाँझो राख्नु हुँदैन भन्ने सिकाइ छ । आँगनमा राखेको नर्सरी देखाउँदै पार्वतीले भनिन्– ‘हलुवावेदका ५ सय, आरु ३ सय, नास्पती दुई सयलगायत अमिलो जातका गरी पाँच हजार बेर्ना राखेकी छु । बहराइन गएर कमाउन नसकेका दिपक चन्दले हरियाली नामक नर्सरी फारम स्थापना गरी बार्षिक ७ लाख ५० हजार बराबरको आम्दानी गरेको सुनाए ।

विभिन्न कृषक समूहमा संगठित भएका कृषकहरुसँग भेटेर अनुभव साट्दा लाग्थ्यो– बार्षिक तीन लाखभन्दा कम कसैको पनि आम्दानी छैन । त्यसभन्दा धेरै आम्दानी हुन्छ । सयको हाराहारीमा जम्मा भएका कृषकहरुले आफूहरुको बाँच्ने आधार र गाउँको पहिचान नै सुन्तला भएको गर्वसाथ सुनाए ।

Suntala_salyan 3कोटमौलामा कोदो र मकैबाहेक अन्य कृषि उत्पादन हुँदैनथ्यो । परम्परागत रुपमा कोदो, मकै गरिने खेती विस्थापित गरी बारीमा लगाइएका सुन्तला बोटबाटै व्यापारीहरुले किनेर लैजान्छन् । दाङ, नेपालगञ्ज, बर्दिया, कैलाली, भैरहवा र भारतसम्मका व्यापारीहरु सुन्तला लिन बारीमै आउने गरेको ५७ वर्षीय कृषक दोलखबहादुर डाँगीले बताए । उनले पाँच सय बोटमा फलेका सुन्तला बेचेर सात लाख आम्दानी गरेको सुनाए ।

सुन्तला खेतीको लागि अनुकूल हावा, पानी र माटो भएकाले कोटमौलाको सुन्तला खेती जिल्लाकै नमूनाको भएको जिल्ला कृषि बिकास कार्यालयका बागबानी अधिकृत शेरबहादुर वलीले बताए । उनका अनुसार यहाँका कृषकहरुले बगैंचा व्यवस्थापन, रोग किरा नियन्त्रण र गोडमेल आदि काम सचेत भएर गरेका छन् । जिल्लामा १ हजार ३ सय ३० हेक्टर जग्गामा सुन्तला खेती गरिएको छ भने उत्पादन ७ हजार ९ सय ६० मेट्रिकटन उत्पादन भएको छ । कोटमौलामा मात्र रोप्नलायक विरुवाको नर्सरीमा झण्डै २ लाख बेर्ना राखेका छन् ।

अहिले जिल्लामा सबैभन्दा राम्रो र धेरै संख्यामा सुन्तला खेती कोटमौलामा नै गरिएको छ । सुन्तलामा पछिल्लो समयमा रोग किराको समस्या बढेको छ । पात छिप्रे, पहेंलो हुँदै जाने समस्या आएको भन्दै वलीले सुन्तलासँगै अनार, किबी र अन्य फलफूल खेती गर्दा ध्यान दिन आवश्यक रहेको बताए ।

जिल्लाका कोटमौला, दमाचौर, खलंगा, सेजवालटाकुरा, माझकाँडालगायतका १५ गाविस सुन्तला उत्पादनको पकेट क्षेत्र भएको कृषि बिकास कार्यालयले जनाएको छ । सुन्तला खेतीले कोटमौलाका कृषकहरुको जीवनस्तरमा परिवर्तन ल्याएको छ । कृषकहरुले आयआर्जन बढाएसँगै नयाँ जीवन जीउन थालेका छन् । कोटमौलाका दुई वडामा अहिले सुन्तला बिक्री गरेर मात्र बार्षिक ५ करोड रकम भित्रिने अगुवा कृषक अंगेश्वर डाँगी दावी गर्छन् । उनले रमाइलो पाराले हामीलाई भने, ‘भाङ्गाचौर र डाँगीगाउँको संयुक्त नाम हो– सुन्तला गाउँ । हजुरहरुलाई नाम चाहिं कस्तो लाग्यो ?’

sunउसो त ती दुई गाउँमा पुग्ने जो कोहीले पनि सुन्तला गाउँ नाम राख्न सुझाएको कृषकहरु बताउँछन् । मलाई पनि लाग्यो– यो सुन्तला खेती व्यवसायमात्रै होइन, सौन्दर्यको खानी पनि रहेछ । यहाँ आइसकेपछि सुन्तला गाउँको यो सौन्दर्यले नलोभिने सायदै कोही होलान् ।

***

यतिखेर यी हरफहरु लेखिरहँदा मलाई ती परिश्रमी हातहरु अनि सुन्तलागाउँ– कोटमौलाका डाँगीगाउँ र भाङ्गाचौरलाई म सलाम गर्छु, जसले सधैं–सधैं मनभित्र केही गर्न प्रेरणा प्रदान गरिरहनेछ ।


साभार ः नयाँ युगवोध  27th December 2014


प्रतिक्रया दिनुहोस:

ब्लग

विचार/बिश्लेषण

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka