बे-लगाम क्रिस्टिनिया

सल्यान अनलाइन, फाल्गुन २८, २०७२


बे-लगाम क्रिस्टिनिया

जयश्वर रिमाल, सांझको ५:०० बजेको थियो । हामी कोपन्हेगन शहरमा घुम्दै थियौं। मेरो लागि यस शहर नयाँ भएकोले अल्लीबेर म यहाँ रुमल्लिरहन र यहांको बारेमा धेरै जान्न समेत चाहन्थेँ। कुनै बेलाको मेरो विद्यार्थी मदन ओली मेरो गाइड बनिरहेको थियो। चार वर्ष देखि डेनमार्कमा बसोबास गरेको हुनाले उसलाई यहाँको सबै कुरा थाहा छ। त्यसैले पनि म दंग परिरहेँ।

युरोपले विकास र प्रविधिमा मारेको अकल्पनीय फड्को, त्यहांका जनताको जीवनस्तर, उनीहरुको जीवन जगतप्रतिको बुझाई र भावी सोच अनि पर्यटकसंगको व्यवहार र प्रतिकृयाबाट म प्रभावित भएको थिएँ र बारम्बार मेरो मातृभूमिको यादलाई मानसपटलमा ताजा गराएर सोचिरहेको थिएँ ,'हाम्रो देस नेपाल यस्तै कहिले बन्ला?'

युरोप घुमाइका क्रममा म स्वीजरल्याण्ड पनि पुगेँ।

नेपाललाई  यति वर्षमा स्वीजरल्याण्ड जस्तै बनादिन्छु भनेर भाषण गर्ने नेताहरुलाई मैले त्यहाँ कसरी विर्सिन सक्थेँ र ? उनीहरुका भाषणले मलाई स्वीजरल्याण्डको बारेमा जन्न थप उत्सुक बनाइरहेथ्यो। त्यस समय मलाई लाग्दै थियो, धन्न हाम्रा नेताहरु यहाँ घुम्न आएछन् र थाहा पाएछन् देशलाई यस्तो बनाउनु पर्छ भनेर ।

नेपाल र स्वीजरल्याण्डको भौगोलिक अवस्था र विकासको तुलना गर्दा लागेको थियो नेपालमा अलिकति मात्रै विकासले गति लिन थालेपछि पर्यटकहरुको ओइरो लाग्नेछ।

कोपन्हेगन शहरमा आइपुगेपछि मदनले भन्यो, 'डेनमार्कको छुट्टै पहिचान बनाउने ठाउं यहांबाट नजिकै छ,त्यहां पनि जाउं ल सर ? त्यस ठाउंलाई क्रिस्टिनिया भन्छन्। डेनमार्क आएका प्राय: जसो सबै पर्यटक एकपटक त्यहां पुग्छन् । हजुरले चांहि किन मिस गर्ने त ?'

अनि कोपन्हेगनको भाल्वी भन्ने स्टेशनबाट सिटी बस चढ्यौं र क्रिस्टीनहाव्न स्टेशन पुगेर ओर्लियौं।

क्रिस्टिनिया क्षेत्रमा प्रवेश गर्ने गेटबाट भित्र छिर्यौँ । यो गेट भित्र ग्रीन लाइट डिस्ट्रिक्ट लेखेको थियो।

हरेक बोटबिरुवाका पातहरु हिउँले खाई जिङ्ग्रिङ्ग परेको  देखिने शहरको एउटा मात्रै यो ठाउँमा कसरी हरियो भएको होला ? मनमन सोच्दै थिएँ, प्रकृतिलाई चुनौति दिन उद्दत मानव विकासको क्रममा सृजित कृतिम सजावटले यस्तो बनाइएको होला ।

गेटबाट भित्र जाने मानिसहरुको भावभङ्गी देख्दा लाग्थ्यो यो एक अनौठो स्थान हो जसले वर्षौंदेखि पर्यटकलाई आकर्षित गरिराख्न सकेको छ। यस गेटबाट बाहिरिने मानिसहरुतर्फ नजर घुमाएं । सबै जसो आ-आफ्नै तालमा नशामा डुबेर लरखरिंदै बाहिरिएको देखिन्थ्यो।

यहाँ गाँजाको खुल्लमखुल्ला उत्पादन र बिक्री वितरण समेत हुने रहेछ । यस क्षेत्रको प्रमुख पर्यटकीय आकर्षण पनि यहि हो रे। गांजाको व्यापार गैह्र-कानूनि हो र डेनिस सरकारले यसको नियन्त्रणको लागि धेरै पटक प्रयास पनि गरेको थियो । तर अहिलेसम्म पनि यहां स्वतन्त्ररुपमा गांजाको व्यापार चलिरहेको छ। 'यति खुलमखुला त शिवरात्रीमा पशुपतिमा पनि हुंदैनहोला सर !' मदनले भन्यो।

'सरकारले यस क्षेत्रमा छापा मार्दैन?' मैले सोधेँ ।

' अँह यहाँ भित्र प्रहरी समेत प्रवेश गर्दैन । पार्टी हल, थियटर, गे हाउस समेत यस भित्र नै छन् । यहाँको स्थानिय परिषदले कार्गो ट्रान्स्पोर्ट बाहेक मोटरसाइकल र कार ल्याउन मनाही गरेको छ । यहाँ बसोबास गर्ने स्थानिय बासिन्दाका सवारी साधन पनि यस क्षेत्रबाहिर नै पार्किङ्ग गरिन्छ ।'  

यस क्षेत्रको जानकारी लिंदै क्रिस्टिनिया भित्र डुल्दै गर्दा अनेकन दृश्यहरु देखियो। त्यहां भित्रका हरेक बिक्रि केन्द्रहरु प्रदर्शनीमा राखिएका स्टलहरुझैं देखिन्थे। सबै केन्द्रमा मानिसहरुको उत्तिकै भिड-भाड देखिन्थ्यो। सबै आ-आफ्नै ताल रसुरमा रमाउंदै थिए। यो देख्दा लाग्थ्यो उनीहरु युद्दको मैदानबाट युद्द जितेर आएका बहादुर सिपाहीहरु हुन् र यसपछि अब लडाईंको मैदानमा कहिल्यै फर्किनु पर्नेछैन । सायद यहि खुशीको लागि उनीहरुले वर्षौं पर्खेका थिए र त्यसको तृप्तिको लागि यहां आउनु उनीहरुको पहिलो रोजाई हो।

बिल्कुलै पृथक जानकारीको साथमा मनमा कुराहरु खेलाउँदै स्वतन्त्र शहरलाई पैदल सयर गरी सांझ मदनकै आपार्टमेन्टमा फर्किएँ।

यस क्षेत्रको इतिहास बारे जान्न गुगल सर्च इन्जिनको प्रयोग गर्दै थिएं तर मलाई किन किन मदनकै मुखबाट सुन्न मन लाग्यो।

कोपन्हेगन शहरको ३.४३ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको एक सुन्दर क्षेत्र हो क्रिस्टिनहाव्न। स्लट्सहोमन र अमेगरको बिचमा पानी माथी हजारौं काठका मुडाहरु थुपारी उक्त थुप्रोमाथी बनाइएको आइल्याण्ड हो यो । स्वीडेनसंगको युद्वमा मरुभुमिमा परिणत भएपछि क्रिस्टिनहाव्न मिलिटरी कब्जामा रहेको थियो। प्राकृतिक सम्पदाहरुले धनी मानिने यस शहरमा डच शैलिमा ग्रिड प्याट्रनमा बनेका पुरातात्विक एवं ऐतिहासिक धरोहरको निर्माण कौशलले गर्दा बिदेशी पर्यटकहरुको आकर्षणको केन्द्र बन्न पुगेको छ। हाल यस संरक्षित क्षेत्र क्रिस्टिनियाको नामले समेत चिनिन्छ। क्रिस्टिनहाव्नलाई क्रिस्टिनियाको घर मानिन्छ।

सन् १९७१ देखि क्रिस्टिनिया एक स्वतन्त्र शहरको रुपमा स्थापित भएको हो। त्यस समयमा हरेक व्यक्तिले आफ्नो हितको लागि आफैंद्वारा शासित हुन नयां समाजको निर्माण गर्ने उद्वेश्य रहेता पनि उक्त स्वायत्तताको मर्म अनपेक्षित रुपमा हिप्पी मुभमेन्ट, स्क्वाटर मुभमेन्ट, कलेक्टीभिजम् र अनार्किजम्  परिणत भएको थियो । यस संगै यहांका बासिन्दाले यस क्षेत्रमा डेनिस सरकारको उपस्थितिलाई रुचाएनन्। र हालसम्म यो भुभाग विशेष कानून 'द क्रिस्टीनिया ल, १९८९' को अधिनमा आफ्नै स्थानिय परिषदबाट सञ्चालित छ।

स्वतन्त्र समाज र खुल्ला गांजाको व्यापार केन्द्रको रुपमा एउटा छुट्टै पहिचान बनाएको यस शहरलाई डेनिस सरकारले चार दशक लामो समयसम्म बिशेष परिक्षण स्वरुप स्वतन्त्र रुपमा सञ्चालित हुन दियो।

यस बिचमा डेनिस सरकारले यस किसिमको स्वतन्त्रतालाई नियन्त्रण गरी कानूनि शासन लागू गर्न केहि प्रयासहरु गरेको पाइन्छ। पहिलो प्रयास स्वरुप प्रहरी परिचालनद्वारा लागु औषधको गैह्रकानूनि व्यापारलाई निस्तेज गर्ने योजना,दोस्रो प्रयासको रुपमा क्रिस्टिनिया क्षेत्रका सबै घरहरुलाई दर्ता प्रकृयामा लैजाने योजना र तेस्रो प्रयासको रुपमा त्यस क्षेत्रमा अवस्थित ऐतिहासिक महत्वका काठका सम्पूर्ण घरहरु भत्काउने निर्णय गर्यो। तर ती घरहरु निर्माणको लागि यस भन्दा अघिका सरकारले अनुमति प्रदान गरिसकेको हुनाले यी प्रयासहरु विवादास्पद नै रहे। यस क्षेत्रका ९०० भन्दा धेरै बासिन्दाहरुले सामुहिक सह-अस्तित्वलाई स्वीकारी समाजमा बस्न पाउनुपर्ने अधिकारलाई सरकारले नियन्त्रण गरेकोमा विरोध जनाए। यसको साथै व्यक्तिगत सम्पत्तिमा जसरी नियन्त्रण गरी आफ्नो अस्तित्व मेटाउन खोजेको भन्ने ठहर गरी सामुहिक हकको लागि लड्दै आएका छन्। तर डेनिस सरकारले भने यसको कुनै सुनुवाई गरेको छैन र बिगत १५ वर्षदेखि यस क्षेत्रमा नयां घरहरु बनाउन नदिनको लागि सरकारले ठुलो संख्यामा प्रहरी परिचालन समेत गरि नियन्त्रण गरेको छ।

मदनले सुनाएका सबै कुराहरुले म आश्चर्यचकित भएँ। यी सब जानकारी पश्चात मेरो मन झनै अशान्त बन्यो।

युरोपमा लागु औषधको खुल्ला उत्पादन र बिक्री बितरण भन्दा पनि त्यहांका बासिन्दाको जीवन र जगत प्रतिको बुझाई र सरकारी कदमको विरुद्धमा व्यक्त प्रतिकृयाले मलाई अवाक् बनायो। यस संगै मलाई मानव सभ्यताको विकासक्रम र आजको युगमा समेत मानवजातिको चाहना र चेतनाको स्तरको बारेमा सोच्न बाध्य बनायो।

लागू औषधको सम्बन्धमा हाल बिश्वमा दुईथरिका दृष्टिकोण रहेको पढेको थिएँ। कुनै पनि किसिमका लागू औषधहरुको उत्पादन तथा बिक्री बितरणलाई निर्मुल गरिनुपर्दछ भन्ने एउटा दृष्टिकोण छ भने क्यानाबिज, डिएमटि, एल सि डि, मेस्कालाईन, सिलोकाइबिन लगायतका नरम किसिमका लागू औषधहरुलाई नियन्त्रित तवरले उत्पादन, बिक्रि वितरण र सेवनमा छुट दिनुपर्दछ भन्ने अर्को दृष्टिकोण रहेको छ। यी दुबै दृष्टिकोणमा व्यापक बहस पनि भइरहेको छ। तथापि हालसम्म यसको सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक भएको छैन। सायद स्वतन्त्र शहर क्रिस्टिनियाको हालको स्वतन्त्रताप्रति डेनिस सरकारको धारणा यसैको पर्खाइमा रहेको छ।




प्रतिक्रया दिनुहोस:

ब्लग

विचार/बिश्लेषण

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka