प्राणान्तअघि छोरीलाई डा. वाग्लेको चिठी

सल्यान अनलाइन, पौष २८, २०७२


प्राणान्तअघि छोरीलाई डा. वाग्लेको चिठी

दुर्गम क्षेत्रका जनताको सेवा गर्ने डा. चित्रप्रसाद वाग्ले शर्माले यो संसार छाडेको तिनबर्ष भयो । क्यान्सर रोग लागेपछि समयमै उपचार नपाएका उनको २०७० कात्तिक ७ गते निधन भएको थियो । क्यान्सरले च्याप्दै लगेपछि परिवारका सदस्यहरु भएभरको सबै सम्पत्ति बेचेर अमेरिका जान पत्नी र शुभचिन्तकले सल्लाह दिँदा उनले मानेनन् । वाग्लेले भोलि आफू पनि नरहने अवस्थामा बालबच्चा एवं पत्नीलाई सडकमा ल्याउन चाहन्न, बरु यत्तिकै मर्छु भन्ने अडान लिए ।
छोरीहरु, मान्छे जन्मन्छ, अवश्य मर्नुपर्छ ।
कोही अगाडि, कोही पछाडि । यस्तै तिमीहरुलाई मेरो अभिभावकत्वको कमी रहनेछ ।
आफू मर्दैछु भन्ने थाहा पाएपछि आफ्नो शेखपछि छोराछोरीको भविश्य के होला भन्ने चिन्ता उनमा थियो । उनै डाक्टर वाग्लेले दिल्लीमा अस्पतालको बेडमा रहँदा कलिला दुई छोरीलाई सम्बोधन गर्दै चिठी लेखेका थिए । छोरीहरुका हातमै पुग्न नपाई डायरीमा सीमित रहेको उनको चिठी पुस्तकका रुपमा हामीमाझ आउन लागेको छ । स्व. डाक्टर वाग्लेले आफ्ना छोरीहरुलाई पनि डाक्टर नै बनेर गरीब जनताको सेवा गर्ने पिताको अधुरो सपना पूरा गर्न एवं स्वाथ्य क्षेत्रमा बढ्दै गएको धनी र गरीबको खाडल पुर्न सल्लाह दिएका छन् ।

प्रिय छोरी आशिका तथा आरुषि
धेरै धेरै माया र प्रेम अनि सम्झना ।
विषेश छोरीहरु अस्पतालको बेडबाट तिमीहरुको सम्झनाले सताएर यो पत्र लेख्दैछु । मैले गर्ने माया र ममता यो चिठीका पानामा कोरेर व्यक्त गर्ने त्यति शब्दहरु पनि छैनन् । लेख्न पनि सक्दिँन । यो मायालाई नाप्ने यत्रो यन्त्र बनेका छैनन् । नभए यति केजी छ भनेर पठाउँथे । जे होस् तिमीहरुप्रति मेरो माया छ, प्रेम छ र शुभकामना छ ।
तिमीहरुलाई राम्रो गार्जियनशीप दिएर राम्रो समाजको राम्रा सहयोगी, सुशील तथा देश र जनताप्रति बफादार नागरिक बनाउने तथा नारी सशक्तीकरणमा अग्रणी भूमिका निभाउने छोरी बनाउने इच्छा थियो । चाहे त्यो डाक्टर भएर होस्, चाहे त्यो इन्जिनियर भएर वा हाउस वाइफ नै भएर किन नहोस् । तर, दैवको लीला छोरीहरु, तिमीहरुलाई मेरो रोेगबारे त्यति थाहा छैन । जे थाहा छ, आशिकालाई क्यान्सर भएको भन्ने थाहा छ तर, यसको अन्तबारेमा तिमीहरुलाई थाहा छैन । सायद थाहा पाउनु अगाडि नै मैले यो संसार छाडिसकेको हुनेछु ।
छोरीहरु, मान्छे जन्मन्छ, अवश्य मर्नुपर्छ । कोही अगाडि, कोही पछाडि । यस्तै तिमीहरुलाई मेरो अभिभावकत्वको कमी रहनेछ । तिमीहरुलाई सधैं सहायता गर्ने तिम्री आमा रहने छिन् । अनि तिम्रा हजुरबाबा र हजुरआमाले साथ दिनेछन् । उहाँहरुको सुझाव र सल्लाह सधैं मान्नू ।

जीवनमा आफ्नो लक्ष्य प्राप्तिमा लागि परेर उद्देश्य पूरा गर्नू । बाबुको अभाव महसुस कहिल्यै नगर्नू । तिमीलाई सहयोग र साथ दिने बोल्ड हृदय भएकी आमा छिन् । उनको कुरा सधैं शिरोधार्य पालना गर्नू । उहाँले दिएका वचन तिम्रा मार्गदर्शन हुनेछन् नानीहरु ….।नानीहरु, तिमीहरुले एउटा अपाङ्ग बच्चा (भाइ) को पनि रेखदेख गर्नू, जसलाई सहयोगको आवश्यकता छ ।प्रिय छोरीहरु, तिमीहरु आमाको गर्वमा हुँदा मैले पहिले नै तिमीहरु छोरीहरु हौं भन्ने थाहा थियो । यो पुरुष प्रधान देशमा छोराहरु चाहिन्छ, यसलाई गर्भपतन गरा भन्ने मान्छे तथा इष्टमित्रहरु धेरै थिए । तर, म र तिम्री आमालाई छोरा र छोरीमा कुनै भदभावको अनुभूति नगरी तिमीहरुलाई जन्मायौं, हुर्कायौं । तिमीहरु हाम्रा लागि छोरासरह छौं । छोरा र छोरीप्रति मेरो र तिम्रो आमाको कुनै भेदभाव छैन । एउटा चिन्ता छ कि तिमीहरु यो समाजको उदाहरण कसरी बनाउने बारे, बन्ने बारे । अब २–४ वर्ष आमाले पढ्न भनेको पनि गाली गरेको झै लाग्नेछ, किनकि पढाइको महत्व तिमीहरुलाई थाहा छैन । तर, उमेर बढ्नेछ, तिमीहरु ठूली हुनेछौ । ८–१० क्लासमा जाँदा तिम्रो पढाइसँगै अन्य कुराहरुमा तिमीहरुको ध्यान जानसक्छ, त्यसैले त्यस समयमा तिमीप्रतिको भावना र सुझाव यस्तो रहनेछः

तिम्रो किशोर अवस्था र वरपरको वातावरण :
प्रिय छोरीहरु, समयले तिमीहरुलाई किशोरी अवस्थामा लैजानेछ, जहाँ तिमीहरुको आवाजदेखि शारीरिक परिर्वतन आउनेछ । तिमीहरुलाई लाजशरम लाग्ने पनि छ । यो परिवर्तनलाई लुकाउन सक्ने छैनौं । यो सँगसँगै तिम्रा भित्रका स्वभावमा परिवर्तन आउनेछन् । केटा केटीप्रति, केटी केटाप्रति आकर्षण बढ्ने समय हो । यो स्वभाविक पनि हो तर, यस उमेरमा बिग्रिएर आफ्नो भविश्य बिगारेका कयौं उदाहरणहरु छन् मसँग । त्यसैले यसबाट सतर्क रहनू ।

यस परिर्वतनमा तिमीहरु बिग्रने छैन । आफ्नो पढाइका साथै चरित्रलाई ख्याल गर्नेछौ । बाबाको इज्जत राख्ने छौं । यही स्कुल अवधिभरिमा पढाइका साथै एक्ट्रा एक्टिभिटिजमा भाग लिनेछौ । राम्रा नृत्य सिक्ने छौं, जो मेरी छोरीहरु नाचेको हेर्न चाहन्छु र चाहन्थें पनि । स्कुलबाट मेरा छोरीहरु साह्रै राम्रा, परिश्रमी, मेहनती छन् भन्ने देख्न चाहन्थें । सायद यो इच्छा पूरा गराउने छौ ।

तिम्रा भविश्यबारे (मेरा मनका कुरा)

एसएलसी तिमीहरुको आइरन गेट भन्ने गर्छन् । मेरा छोरीहरु यो गेट इजिली पास गर्नेछौ । मेरो चाहना तिमीहरु राम्रो अंकका साथमा यो गेटबाट निस्कने छौ ।

तिमीहरुको आफ्नो इच्छा होला, के बन्ने ? जे बन, त्यसमा मेरो केही गुनासो रहने छैन । तर, तिमीहरु समाजको असल मान्छे बन । समाजले तिमीहरुको उदाहरण दिउन् । डाक्टर, इन्जिनियर, पत्रकार वा हाउसवाइफ बन तर, राम्रो बन । तिमी आफ्नो पेशामा राम्रो मान्छे भएनौ भने डाक्टर, इन्जिनियर वा राजनीतिज्ञ बने पनि त्यो समाजबाट केही पाउने छैन । त्यसैले असल मान्छे बन्नु ।

एउटा नारी भएकाले नारी सशक्तीकरणमा तिमीहरुको ठूलो हात रहोस् । किन, नेपालमा नारी झै पुरुषको दाँजोमा कम नै छ । तर, नानीहरु, म डाक्टर भएकाले त्यो क्षेत्रमा धेरै कठिनाइ भएता पनि इमान्दार भएर काम गर्ने हो भने, जनताको सेवा पनि हुने, इज्जत सम्मान पनि पाइने ।

शहरमा त जो कोही बसेर सेवा दिइरहेको हुन्छ तर, दुर्गम र विकटमा कोही जान चाहँदैन । मेरा छोरीहरु । स्वास्थ्य सेवामा अहिले नै व्यापारीकरण भइसक्न थालेको छ । तिमीहरुको पालामा यसले ठूलो विकृति दिने र ठूलो खाडल रहनेछ गरीब र धनीको बीचमा । त्यो खाडल पुर्नमा तिमीहरुको ठूलो देन हुनेछ ।

डाक्टर भएर तिम्रो बाबाका समाज सेवामा अधुरा सपना साकार पार्नेछौ । तिमीहरु दीनदुःखीको सेवामा सँधै जीवन समर्पित गर्नेछौ । ता कि तिमीहरुको उपस्थितिमा ती असहायः गरीब तथा सबैथरिका मान्छे खुसी हुनेछन् ।

सबैभन्दा ठूलो कमाइ भनेको त्यही हो नानी । यो सम्मान र माया किनेर पाइँदैन । सोर्स लगाएर पाइँदैन । त्यो त मन जितेर लिने कुरा हो । चिकित्सकको सेवाबाट बच्चित रहेको समाजमा गएर सेवा गर्नु ।

शहरमा त जो कोही बसेर सेवा दिइरहेको हुन्छ तर, दुर्गम र विकटमा कोही जान चाहँदैन । मेरा छोरीहरु । स्वास्थ्य सेवामा अहिले नै व्यापारीकरण भइसक्न थालेको छ । तिमीहरुको पालामा यसले ठूलो विकृति दिने र ठूलो खाडल रहनेछ गरीब र धनीको बीचमा । गरीब अझ गरीब हुनेछन् । त्यो खाडल पुर्नमा तिमीहरुको ठूलो देन हुनेछ ।

तिम्रो यौवन, विवाह र दाम्पत्य जीवन :

प्रिय छोरी, समयले कसैलाई पर्खेर बस्दैन । समयको दौरान तिमी किशोरी अवस्था पार गरेर युवा अवस्थामा जानेछौ । यो परिर्वतन तिमी, हामीले रोकेर रोकिने छैन । पढाइ सकिएर वा उच्च शिक्षा लिइरहेका बेलामा तिमीहरुको कुनै साथी मन पर्ला, जससँग जीन्दगी राम्रो हुनेछ भन्ने सोच्नेछौ । त्यो नराम्रो कुरा पनि होइन । म जीवीत भएको भए पनि स्वीकार गर्ने थिएँ । त्यसलाई अन्यथा तिम्रो बाबाले कहिल्यै पनि लिने थिएन । तर, समय खराब छ, तिम्रो जीवनसाथी त्यस्तो हुनुपर्छ, जसले तिमीलाई बुझ्न सकोस् । तिमीले उसलाई बुझ्न सक । फ्युचर प्लान मिलेको होस्, जहाँ जीवनभरि एकले अर्कालाई दुःख र सुखमा साथ दिन सक ।

तिम्रो विवाहको चयन गर्ने अधिकार तिमीहरुको हुनेछ । निर्णय धेरै सोचविचारबाट गर्नू । प्यार गर्नु नराम्रो कुरा होइन । त्यसलाई माया गर्नु, जसबाट बाँकी जीवन सुखमय होस् ।

हेर न, तिम्रो मम्मी र मैले लभ म्यारिज सीडीओ कार्यालयमा गरेको हो । हामीले एकले अर्कालाई खोजेका हौं । दुर्भाग्य, मैले उनलाई लामो समय साथ दिन सकिँन । जे होस्, तिमीहरु पनि हाम्रो च्वाइसमा लिन थोरै ध्यान दिने छौ । साथै परिवारको सल्लाहलाई पनि नजरअन्दाज गर्ने छैनौ ।

मेरो मतलव, यो होइन कि तिमीहरु आफ्नो मायालाई कुर्वानी दिनू भनेर । इच्छा, चाहना, आकांक्षा अनुसार चल्नू । तिम्रा मनले जे राम्रो मान्छ, त्यसलाई मान्नू । तर, तिम्रो मनले गर्दा समाजलाई अपच हुने कुरा नगर्नू किनकि यो समाजमा बस्नु छ ।

तिमीहरु ठूलो हुने बेलासम्म यो समाज धेरै परिर्वतन भइसक्ने छ । मेरा छोरीहरु, यो समाजको रुढीवादीलाई पछि पार्दै आधुनिक समाजका उदाहरण बन्ने छौ । जसरी हामीले पनि आफ्नो पालामा सीडीओको आफिसमा गएर विवाह गरेका थियौं । दाइजो र जन्ती लगेर ठूलो भतेर गरेका थिएनौं । हाम्रो विवाहमा पार्टी भएको थिएन । तर, त्यो समयको दौरानमा सबै ठीक भएर गयो । हामीले छोरा र छोरीमा भेद गरेनौं, जो तिमीहरुलाई थाहा छ ।

छोरीहरु, यो कुरा मैले किन लेखेको भने यी उमेरसम्म यस धर्तीलाई धेरै अघि छोडिसकेको हुनेछु ।
ल नानीहरु, चिठी यहीँ बन्द गर्न चाहन्छु ।
तिमीहरु माया गर्ने बा(बाबा)

-दिल्ली, राजीव गान्धी बेडबाट




प्रतिक्रया दिनुहोस:

ब्लग

विचार/बिश्लेषण

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka