उही प्रियसीका नाममा…

सल्यान अनलाइन, फाल्गुन २८, २०७२


प्रिय तिमीलाई फेसबुकमार्फत नै यसपालिको 'भ्यालेनटाइन डे' मा प्रेम प्रस्ताव राख्दैछु। फोन गर्यो भने तिम्रो नम्बरमा फोन नै लाग्दैन। खाली तपाइले सम्पर्क गर्न खोज्नु भएको नम्बर अहिले उपलब्ध हुन सकेन भन्ने सन्देश बज्छ। मलाई विश्वास लाग्दैन। फेरि दुर्इ-चार पटक तिम्रै नम्बर डायल गर्छु अनि कल सेन्टरको उही म्यासेज सुन्छु,' तपाइले सम्पर्क गर्न खोज्नु भएको नम्बर अहिले उपलब्ध हुन सकेन', त्यसैलाई तिम्रो आवाज सम्झेर।

फेरि भैरहवाबाट काठमाडौं पुगेर तिम्रो अगाडि झुकेर,घुडा जमिनमा टेक्दै, एउटा फक्रिएको गुलाबमा मिसिएका आफ्ना मनका भावना, माया, र सपनालाई तिमीतिर सार्दै  'आइ लभ यु' तिम्रो नाममा  भनौ भने तिमी काठमाडौंमा छैनौ यतिबेला। अनि मेरासामू अस्ट्रेलियाको सिड्नीको बिरानो वातावरणमा आफ्नो भविश्य खोजिरहेकी तिमीलाई भेट्न अनि माया साट्न अष्ट्रेलिया नै आउने सम्भावना पनि रहेन। अनि त तिमीलाई प्रेम ब्यक्त गर्ने सरल माध्यम फेसबुक नै बन्न पुग्यो। फेरि हाम्रो विशेष मिलन पनि त फेसबुकले नै गराएको थियो नि।

२०६५ सालमा सर्वोच्चको बार एसोसिएनको हलमा सैयौ मान्छेका हुलमा मेरा आँखा तिमीतिर पुगेर ठोक्किएका थिए। भर्खर एसएलसी पास गरेर कलेजतिर पाइला चाल्न लागेकी तिम्रो सुन्दरताले कस्को आँखालाई तानेको थिएन होला र? हावालाई नै हल्लाई दिने गरेर छाडेको केश, गहुँगोरो अनुहारमा आकाशमा चम्किएका चन्द्रमाझैँ धपक्क बलेका एक जोडी राता गालाहरु, निला र गोला आँखाका नानी वरिपरी सजिएका गाजल, पाकेर फक्रिएका सुन्तलाका केस्राजस्ता रसिला ओठहरु, ओठका लिपिस्टिकबाट ठोक्किएका प्रकाश पर्दा बिहान हिमाल चम्किएझैँ चम्मक चम्किने दाँतहरु, शरीरमा टपक्क मिलेका फुलबुट्टे कुर्थासुरुवाल, छिनेको कम्मर अनि अग्ला-अग्ला हिलहरु, म त तिमीलाई हेरेको हेर्यै भएको थिए।

मैले तिमीलाई एउटा सुन्दर फूलजस्तो देखेको थिए। फूललाई चारैतिरबाट काँडाले जोगाएर राखेको हुन्छ भनिन्छ, तर मैले केवल एउटा फूलमात्र देखे, वरिपरी सबै मान्छेहरु बिर्सिए, संसारका सबै सपनाहरु बिर्सिए, तिमीलाई एक्लै देखे, तिम्रो नजिक आउन मन लाग्यो, तिमीलाई अंगालोमा बाध्न मन लाग्यो, तिमीमा आफैलाई हराउन मन लाग्यो र सासले तिम्रो कानमा भन्न मन लाग्यो, 'मलाई तिमीसंग प्रेम गर्छु।  स्कुलबाट घर जान लागेकी तिमी ममीको हात समाएर, हास्दै रमाइरहेकी थियौ। त्यसपछि म तिमीसंग बोल्ने अवसर खोज्दै तिम्रो नजिक पुगे।

तिमीसंग बोल्ने आट नै आएन। बरु तिम्रो ममीसंगै बोले, 'आन्टी बधाई छ, कति राम्रो पर्सेन्टेज्  (८८ प्रतिशत) आन्टीले धन्यवाद भन्न नपाउँदै फेरि के बोलु के बोलु जस्तो भयो। 'अँ आन्टी मैले पनि लिटिल एन्जल्स् कलेजबाटै प्लस टु गरेको। (तिमीलार्इ देखाउँदै उनले पनि लिटिल एन्जल्स् स्कुलबाटै एसएलसी गरिछन्,  हैन आन्टी? अनि आन्टी मुसुक्क मुस्कुराउँदै बोल्नु भयो, 'हो त नि, त्यहीबाट एसएलसी गरेकी यसले। पहिले भेट्नुभएको थियो यसलाई?' 

'कहाँ हुनु आन्टी, यिनी स्कुलमा, म कलेजमा।' (भाग्य भए पो भेट्नु, मनमनै सोचे)बधाई अनि शुभकामना ग्रहण गर्दै आन्टी अगाडि बढ्नु भयो, अनि तिम्रा पाइलाहरु पनि त्यतैतिर बढे। भिडमा तिमी कता हरायौं। झन्डै मेरो सास रोकियो।  म तल झरेर बार एसोसिएसनको गेटनेर कुरेर बसे। ममी अरुसंग कुरा गर्न व्यस्त भएको मौका छोपेर तिम्रो नजिक आए र भने, ' बधार्इ, कस्तो राम्रो पढेकी।' 'थ्याङ् यु ' सुरिलो आवाजमा तिमीले भन्यौ। 'अनि तिमि सम्पदाको ब्याच हो?' मैले प्रश्न गरे। 'हो त चिन्नुहुन्छ सम्पदालाई ?' तिमीले प्रतिप्रश्न गर्यौ। 'कसले चिन्दैन र टपर अनि स्कुल क्यापटेनलाई ?' म मुस्कुराए। 'कहाँ पढ्छौ, कुन विषय पढ्ने विचार छ?' मैले सोध्दै थिए, तिमीले जवाफ दिन नपाउँदै ममीले बोलाउनु भयो, तिमि घर तिर लाग्यौ, निकै टाढासम्म मैले तिमीलाई हेरिरहे।

काठमाडौंबाट भैरहवा झरेको दुर्इ वर्षसम्म तिम्रो सम्झना र यादहरुमा म मा कत्ति पनि कमि भएको थिएन। दिनमा नभए रातमा, रातमा नभए दिनमा, बिहान नभए बेलुका, बेलुका नभए बिहान, तिमीलाई नसम्झेको दिन रहेन। निकैपछि एउटा 'आइडीया' आयो। अनि तिमीलाई फेसबुकमा खोजे, म्यासेज पठाएँ,सबै बेलिबिस्तार बताए किनकी तिमीलाई मेरो नाम थाहा थिएन। अनि मेरो मोबाइल नम्बर पनि तिम्रो इनबक्समा राखिदिए। अचानक एक दिन मोबाइलको घन्टी बज्यो। फोन तिम्रै थियो।

छोटो समयको त्यो फोनले, त्यो संबादले मनमा कति खुशी मिलेको थियो भनेर तिमीलाई बताउने कुनै शब्द नै छैन। तिमीलाई थाहा नै छ प्रिय त्यो पछि करिव ६ महिनासम्म हामीले फोनमा धेरै कुरा गरिसकेका थियौ। 'तिमी मलाई माया गर, म तिमीलाई मन पराउँछु', कहिलेकाही जिस्केर तिमीलाई भन्थे। 'बेला भएको छैन, पछि सोचौला', तिमी यस्तै भन्ने गर्थ्याैं।

केही समयपछि म काठमान्डू आएको बेला तिमीलाई भेट्न तिम्रै कपन आएको थिए। तिमी मलाई घरमै आउन भन्थेउ। घरमा आउन अप्ठारो लाग्यो मलाई, त्यसैले तिमीलाई बाहिर नै भेट्न बोलाए। तिमी आउन्जेल कपनको त्यो खुल्ला चौरको एक कुनामा केटाकेटीले चंगा उडाएको हेर्दै कुरिरहे। मन पनि चंगाझैँ उडिरहेको थियो। पाँच दश मिनेट पछि त्यहाँनेर एउटा स्कुटर आएर रोकियो। फेरि त्यसरी नै छाडिएका कपाल, आँखामा चस्मा, कालो टी-सर्ट, घुडानेर नै टुन्गने पैन्ट, गोलभ्स लगाएको हातमा हेल्मेट, मुखमा मास्क, घाँटीबाट फिता लगाएर भिरिएको सानो ब्यागको साथमा निकै गोरी देखिने केटी स्कुटरबाट म भएतिरै आइ। त्यो अरु कोही नभएर तिमी नै थियौ। पहिले भन्दा धेरै फरक र अझै राम्री देखिएकी थियौ तिमी। मलाई विश्वास नै भैरहेको थिएन तिमी मलाई भेट्न आएकी हौं।

'ओहो तपाई, कस्तो पहिले कहिले नदेखेझै लागेको?', तिमीले भन्यौ। मलाई नि त्यस्तै लागिरहेछ, तिमी विल्कुल नौली लागिरहेछौं भन्न चाहे तर धेरै समयपछि भेटेर त्यस्तो लागेको होला भनेर टारे। तिम्रो सुन्दरताले म त नर्भसनै भएथें। कति गफ गरेर नथाक्ने गफाडी मलाई तिमीसंग कुरा गर्ने कुनै कुरै आएन। 'अब भयो, अब कुरा सकियो ?' तिमीले सोध्यौं। के भन्ने भन्ने, मनमा कुनै शब्द नै आएन। म बोली न आएको नानीझैँ तिमीलाई हेरिरहे। त्यतिकैमा केही छिन कुरा गरेपछि तिमी जाने तरखरमा लाग्यौ। स्कुटर घुमाएर एक चोटी रोकी मुस्कानसहित 'बाइ' भनेर अगाडि बढ्यौ। म भने तिम्रै कल्पनामा केहीबेर त्यही घोत्लिरहे।

भेटेको ६ महिनापछि तिमी अध्ययनका लागि अष्ट्रेलिया फकिने तयारीमा लागेकी थियौ। मैले तिमीलाई नेपाल छोडेर नजान पनि भने। तर तिमी आफ्नो भविश्य बनाउन अष्ट्रेलिया गएरै छाड्ने बतायौ। अन्तिममा म्यासेज आयो , 'I am Going, stay good, Stay smiling, Takecare' तिम्रा यी शब्दमा मैले तिम्रा माया मिसिएको पाए। मैले पनि Safe journey भन्दै तिमीलाई बिदा गरे।

मलाई आशा छ तिमि आफ्नो पढाई पुरा गरेर एक दिन नेपाल आउँछौँ। यस्तै कुनै 'भ्यालेन्टाइन डे' मा म तिम्रो अगाडि झुकेर, घुडा जमिनमा टेक्दै, यौटा फक्रिएको गुलबमा मिसिएका आफ्ना मनका भावना,माया, र सपनालाई तिमीतिर सार्दै 'आइ लभ यु' भन्नेछु। तिम्रो जवाफ खोज्नलाई मैले तिम्रो आवाजलाई कुर्नु पर्ने छैन, केवल तिम्रो मुस्कान नै कफी हुनेछ।

उही तिम्रो अटल प्रेमी…




प्रतिक्रया दिनुहोस:

ब्लग

विचार/बिश्लेषण

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka