सपनाको अन्त्यष्टि

सल्यान अनलाइन, फाल्गुन २८, २०७२


सधैजसो आज पनि उही हिड्दा हिड्दा थाकेको पुरानो जुत्ता, मैलोले रंग फेरिएको सर्ट, च्यातिन लागेको पाइन्ट र झोलाभरी जीवनका कागजरुपी उपलब्धीहरु बोकेर निस्किएँ । हिजोजस्तै अनिश्चित गन्तव्यको सयरमा दीनभरको लागि हिडेको थिएँ । उदेश्यविहिन भएर शहरका सडकहरु र गल्लीहरु डुल्नु मेरो दिनचर्या थियो । र मलाई बस यति थाहा थियो, म आज पनि त्यहि गर्दैछु ।
 
मूल सडकमा निस्कँदा आज पनि चहलपहल सुरु भइसकेको थियो। मानिसहरु स्वचालित रोबट झैँ हतारहतार पाइला चाल्दैथिए। कसैलाई कसैसँग उभिएर बोल्न त के हेर्न पनि फुर्सद थिएन।
 
विपरीतबाट आइरहेका एक भलाद्मीजस्ता देखिने मानिसले मेरो कुममा ठक्कर दिए। उनले माफी माग्न जरुरी ठानेनन् र फर्केर पनि नहेरी सरासर लागे।
 
अचम्म लागेन। किनकि थाहा थियो, यो सहरमा नैतिकता हराएको धेरै भइसकेको छ।
 
चाबहिल, गौशाला, तीनकुने...आवाजले भट्ट्याइरहेतिर लागेँ। र, बस चढेँ।
 
बायाँपट्टि तेस्रो सिटको ‰यालपट्टि गएर बसेँ। नियाल्न थालेँ। यो अजीव सहरका अजीव दृश्यहरु।
 
मान्छेका मुहारमा कुण्ठा र आवेग प्रष्ट झल्किन्थ्यो। कहिलेकाहीँ उनीहरु देखावटी हाँसो हाँस्दैथिए।
 
स्टपमा बस रोकियो।
 
सडकछेवैको छाप्रे पसलका व्यापारी निराश थिए। किनकि आज उनको बोनी पनि लागेको थिएन। ह्याङ्गरका धुलाम्मे सर्ट अनि खुइलिसकेका ज्याकेट ग्राहकको पर्खाइमा थिए। चैत सुरु भइसकेको थियो। जाडो सकिन लाग्दा पनि ती कसैका बन्न सकेनन् सायद। तिनले अर्को पुस कुर्दैथिए।
 
सबै सीट भरिए पनि मसँगैको सीटमा बस्न कोही आएनन्। किन? बसको ‰यालको सिसामा मैले आफ्नै आकृति देखेँ। लामो दाह्री, मैलो कपाल र निकै थकित अनुहार।
 
“के यो साँच्चै म हो?”
 
आफैँलाई प्रश्न गरेँ।
 
ऐना नहेरेको नि धेरै भएछ। म त आफूले आफैँलाई पनि नचिन्ने भइसकेछु। हुन त म आफूले आफैँलाई नचिन्ने भइसकेको थिएँ। म कहिलेदेखि यस्तो भएँ? ममा किन यस्तो परिवर्तन आयो? यी प्रश्नका जबाफ मसँग थिएन।
गाडी गुड्यो। फेरि अर्को स्टपमा रोकियो।
 
सभ्य समाजले खातेको दर्जा दिने सडक बालकहरु डेनड्राईडमा लठ्ठ थिए। अर्को हुलचाहिँ बटुवासँग पैसा माग्दैथिए। नजिकै एक सुटेडबुटेड मानिस मगन्ते बालकबाट भाग्न खोज्दैथियो। यो बिरलै देखिने दृश्य होला जहाँ धनी मान्छे गरीब देखी डराइरहेका थिए।
 
आखिर यहाँ सब मगन्ते नै त छन्। आफ्नो पेटको निम्ति सबै कसैसँग माग्दैछन्। फरक यत्ति थियो, त्यो बालक खुलेआम सडकमा माग्दैथियो।
 
“अंकल, भाडा दिनुस् त।”
यी आयो फेरि अर्को मगन्ते। खल्तीबाट पन्„ रुपयाँ निकालेर दिएँ।
 
अंकल! के म त्यति साह्रो बूढो भइसकेँ? आफ्नो उमेर सम्झेँ। आधा उमेर बित्न लागिसकेछ। के त मेरो अहिलेसम्मको उपलब्धी? जन्मदेखि २५ बर्षसम्म मलाई पैसा कमाउनलायक मान्छे बनाउन पढाइयो। यी झोलाका प्रमाणपत्र जसलाई म बिगत तीन महिनादेखि बोकेर सहरका गल्लीगल्ली चहारिरहेछु।
 
के मेरो अहिलेसम्मको परिचय यही हो?
अहँ, म यो हुँदै हैन। मेरो परिचय यसले निर्धारण गर्दै गर्दैन। म केवल यी कागजका पानामा सीमित हुने कागजी आकृति हैन। म यो भन्दा धेरै केही हुँ। मैले जीवनलाई भिन्न तरीकाले बुझेको छु। कयौं रात खाली पेट सुतेको छु।
 
झोला खोलेर म मेरा हरेक प्रमाणपत्रका पाना एएक गरेर चियाउन थालेँ। आखिर के दियो त यसले मलाई? अब यसको कुनै महत्व छैन।
तिनै पत्रबीचबाट एउटा तस्बिर खस्यो। गाडीको सीटमुनि उल्टो परेर बस्यो।
 
त्यो तस्बिर टिपेर हेरेँ। मधुर मुस्कानसाथ हाँसिरहेको एउटा फोटो। धुलो लागेछ, अर्को हातले टक्टकाएँ।  ए, साँचै म कुनै जमानामा प्रेममा पनि परेको थिएँ है।
 
ती बिगतका स्मृति एएक गरेर मानसपटलमा खेल्न थाले। जति नै कोशिस गरे पनि एकपटक मनको कुनामा सजाइसकेको मानिसलाई निकाल्न नसकिने रहेछ। मलाई आयशाले कहिल्यै वसन्त नआउनेगरी शिशिरमा उजाडिएको नाङ्गो पाखो बनाएर गएको थिई। त्यसपछि न म फक्रिएर फुल्न सकेँ न त ओइलाएर झर्न नै सकेँ।
 
मलाई भाउन्न भयो।
 
गाडी गौशाला चोकबाट ठिक अघि बढ्न लागेको रहेछ। रोक्न लगाएँ र झरेँ। फटाफट पशुपतितिर लागेँ।
 
आर्यघाट। जहाँ धेरै सपनाका अन्त्य भएको छ। जल्दाजल्दै धुँवा भएको छ। खरानी भएको छ।
 
मेरा पनि केही सपना थिए– एउटा भरपर्दो जागिर, सानो परिवार र सुन्दर घर बसाउने। मेरा यी सबै सपना अब केवल मिठो कल्पनासिवाय केही रहेन।
 
म अब भिन्न तरीकाले जिउँछु। यी सबै सांसारिक मोहबाट म अब मुक्त हुन्छु। आखिर जति उचाइमा पुगे पनि एकदिन झर्नु नै छ, अन्त्यमा यही माटोमा मिल्नु नै छ।
 
नजिकै एउटा जिन्दगी जल्दैथियो। मैले झोलाबाट आफ्ना सपनाका पोका एएक गर्दै निकालेँ। तिनै सपनालाई दागबत्ती दिएँ।
 
सपनाहरु आगोको लप्कोसँगै खरानी भए। मेरा सपनाको अन्त्यष्टिमा मलाई पश्चाताप थिएन। र, म अलिकति पनि दुखी भइनँ।
 
भोलि बिहान पहेंलो पिताम्बर ओडेर एउटा हातमा कमण्डलु र अर्को हातमा त्रिशुल लिएर आफ्नो भेष बदलेँ। चर्को स्वरमा कराउँदै हिडेँ, “अलक निरन्जन, बम बम भोले...”




प्रतिक्रया दिनुहोस:

ब्लग

विचार/बिश्लेषण

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka