तरकारीले बढायो आम्दानी

सल्यान अनलाइन, जेठ १९, २०७६


तरकारीले बढायो आम्दानी

जेठ १९ सल्यान  । सल्यानको बन्गाड कुपिण्डे नगरपालीका वडा १ को आमखोलीमा तरकारीबाटै किसानले वार्षिक लाखौं आम्दानी गरी रहेका  छन् । 
समूहमा आवद्ध भई तरकारीखेतीमा लागेका किसान हाल व्यवसायिक खेतीमा लागेका हुन । उनीहरुले एक सिजनमा मात्रै १ लाख देखि डेढ लाख सम्म आम्दानी गर्ने गरेका छन् । 
तरकारीबाटै एक सिजनमा ५० हजार देखि १ लाख बराबरको आम्दानी गर्ने गरेको किसान टोपवहादुर वुढाक्षेत्रीले वताए । धान भन्दा तरकारीबाटै फाईदा हुने भएकोले धान लगाउन छााडेर तरकारी खेतीमा लागेको उनको भनाई छ । उनले भने ‘आफ्नो सबै जग्गामा हिउँद वर्षा सधै तरकारी लगाउने गरेका छौं । तरकारीबाटै छोरा छोरीलाई शिक्षादिक्षा दिन र घरखर्च राम्रोसँग चल्दै आइरहेको छ ।’ तरकारी खेती गर्न थालेको पाँच वर्ष भएको बताउदै बुढाक्षेत्रीले तरकारीखेती गर्न थालेपछि कहिल्यै दुई चार सय रुपैयाको दुःख नपरेको बताए । 
तरकारी गरेर वर्षमा ३ देखि ४ लाख रुपैया कमाई गर्ने गरेको तुङ्ग बहादुर विसीले बताए । ६ रोपनी जग्गामा व्यवसायिक तरकारी खेती गर्दै आइरहेका विसीले अर्को वर्षदेखि जमिन भाडामा लिएर थप तरकारीखेती गर्ने योजना बनाएका छन् । उनले भने ‘काम गर्दैजाँदा तरकारीविज्ञ जस्तै भइयो कुन समयमा कुन जातको वीउ लगाए रोगकिरा लाग्छ र जोगाउ सकिन्छ भन्ने अनुभव भईसकेको छ ।’ 
यस्तै कालिमाटी गाउँपालिका वडा न २ पुतलीबजारका ५२ वर्षिय डम्बर बहादुर खत्री तरकारी खेती गर्न थालेपछि मजदुरीका लागि भारत जान छोडेका छन् । तरकारी खेतीलाई व्यवसायिक बनाए पछि भारत जान नपरेको खत्रीको अनुभव रहेको छ । उनले भने ‘भारतमै बसेर कति दुः ख गर्नु भनेर २०६० सालमा भारतमा नेपाल फर्किएको हुँ । नेपाल फर्र्किएकै वर्षदेखि तरकारी खेती सुरु गरे ।’ 
१५ वर्षदेखि व्यवसायिक तरकारीखेती गर्दै आइरहेका खत्रीको बारीमा अहिले काक्रो, करेला, टमाटर, सिमि, बोडी, भिडेँखुर्सानी लगायतका तरकारी रहेका छन् । 
आफुहरुले उत्पादन गरेको कृषिजन्य बस्तुको बजारीकरणमा समस्या नभएको कुल प्रसाद भण्डारीले बताए । केही तरकारी स्थानीय बजारमा खपत हुन्छ । बाँकी सदरमुकाम खलंगा, दाङ्ग, सुर्खेतको बोटेचौर पठाउने गरेको उनले बताए । उनले भने ‘पहिले तरकारी खेती गर्ने साविकको कालिमाटी गाविसभरी २÷ ३ जनामात्रै थिए तर आजभोली ५० देखि ६० जनासम्मले व्यवसायिक तरकारी खेती गरी रहेका छन् ।’
पछिल्लो समय भारतिय तरकारीले स्वदेशी तरकारीलाई केही विस्तापित गरे पनि तरकारी खेतीले आफ्नो जीवनमा निकै परिवर्तन ल्याएको किसानहरुको भनाई रहेको छ । 
 




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka