‘वर्षेनी १००० बलात्कार पीडितलाई वयान फेर्न बाध्य पारिन्छ’

सल्यान अनलाइन, असोज १६, २०७६


‘वर्षेनी १००० बलात्कार पीडितलाई वयान फेर्न बाध्य पारिन्छ’

१६ असोज, काठमाडौं । संसद सचिवालयले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा पदमुक्त भएको सूचना सार्वजनिक गर्नुभन्दा २४ घण्टा पहिला नै पीडित भनिएकी महिलाले महरालाई ‘क्लिन चिट’ दिएको भिडियो सार्वजनिक भयो । जब कि महराले आफूलाई जबरजस्ती करणी गरेको भन्ने ती महिलाको आरोपलाई नै आधार मानेर राजीनामा दिएका थिए ।

सञ्चार माध्यममा सार्वजनिक पहिलो भिडियोमा बलात्कारी भनेकी महिलाले अर्को भिडियोमा भने महरालाई ‘बाउ समान’ को मान्छे भनेकी छन् । अर्थात् जसले बलात्कारको आरोप लगाएकी थिइन्, उनैले पछि आफ्नो वयान फेरिन् ।

पहिला बलात्कारी भनेको व्यक्तिलाई पीडितले नै पछि सफाइ दिएको यो नै पहिलो घटना भने होइन । अधिकारकर्मी डा. रेणु अधिकारी बलात्कारीले सजायँ पाउने निश्चित भएपछि अदालतबाट अन्तिम फैसला हुने बेलासम्म पनि पीडितको वयान प्रभावित गर्ने प्रयत्न हुने गरेको बताउँछिन् ।

‘कम्तिमा एक तिहाई पीडितलाई विभिन्न दबाव/प्रलोभन दिएर वयान फेर्न बाध्य पारिन्छ’, डा. अधिकारी भन्छिन्, ‘कति पीडितले वयान फेरे भन्नु भन्दा पनि उसले कुन-कुन कारणले आफ्नो कुरामा टिक्न सकेन भन्ने विषय खोतल्नु जरुरी छ ।’

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा तीन हजार १६ वटा बलात्कारका घटना भए । डा. अधिकारीको भनाइलाई मान्ने हो भने गत आर्थिक वर्षमा मात्रै एक हजारभन्दा बढी पीडित वयान फेर्न बाध्य भएको देखिन्छ ।

यो प्रहरीमा दर्ता भएको घटनाको मात्रै आँकडा हो । महराको नाम जोडिएको जस्तो प्रहरीको जानकारीमा पुगेर पनि उजुरी नै दर्ता नभएका घटनाहरू भने माथिको आँकडामा समावेश छैन ।

पछिल्लो समयमा पीडितले उल्टो वयान (होस्टाइल) दिने घटना बढ्दै गएको जानकारहरू बताउँछन् । पीडक शक्तिशाली भएको मुद्दामा होस्टाइलको सम्भावना झनै बढी हुन्छ । होस्टाइल बढ्नुको अर्थ यस्तो अपराधमा शक्तिशालीहरूको संलग्नता बढ्नु पनि हो ।

होस्टाइल शब्द समान्यतया अदालतमा पुगेको मुद्दामा प्रयोग गरिन्छ । तर, पछिल्लो समयमा अदालतमा नपुग्दै पीडितलाई प्रभावमा पार्ने क्रम पनि बढेको अधिकारकर्मीहरू बताउँछन् ।

‘सभामुखसँग जोडिएको केस भएकाले चर्चामा आएको हो मात्रै हो’ अधिकारकर्मी डा. अधिकारी भन्छिन्, ‘पीडित वयान फेर्न बाध्य पार्ने घट्ना दिनहुँ जस्तो भइरहेको छ ।’

किन फेरिन्छ वयान ?

गत साउन १२ गते भारतको रायबरेलीमा बलात्कार पीडित बालिका, उनकी आफन्त र वकिल सवार कारलाई ट्रकले हान्यो । ट्रकको ठक्करबाट बालिकाकी दुई आफन्तको मृत्यु भयो भने वालिका र उनका वकिल गम्भीर घाइते भए ।

‘उन्नाव रेप’ काण्ड नाम दिइएको यो बलात्कारसम्बन्धी घटनाका अभियुक्त सत्तारुढ भारतीय जनता पार्टीका विधायक कुलदीप सिंह सेंगर पक्राउ परेको १५ महिनापछि पीडित सवार कारलाई ट्रकले हानेको हो । ट्रक चालकले प्रहरीलाई दिएको बयान शंकास्पद रहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

अदालतबाट दोषी ठहर हुने निश्चित भएपछि पीडितलाई मार्न योजनाबद्ध रुपमा नक्कली दुर्घटना गराएको कुलदीपमाथि अर्को अभियोग थपियो ।

अदालत पुगेर अन्तिम फैसलाको तयारीमा पुगिसकेको मुद्दामा पनि पीडित कति असुरक्षित छ भन्ने यो उदाहरणले देखाउँछ । खासगरी सबै प्रमाणबाट दोषी ठहर हुने भएपछि आफूलाई जोगाउन शक्ति र पहुँच हुनेहरूले के सम्म गर्छन् भन्ने रायबरेली ‘दुर्घटना’ ले देखाउँछ ।

अदालतमा पुगिसकेको मुद्दामा नाटकीय परिवर्तन ल्याइएको घटना नेपालमै पनि प्रशस्त छन् । जस्तो २०७४ फागुन २० गते काठमाडौं जिल्ला अदालतले नेपाली सेनाका ३३ वर्षीय सेनानीलाई सफाई दियो । २३ नम्बर बाहिनी, बाग्लुङमा कार्यरत ती सेनानीमाथि काठमाडौं, शंखमूलमा आफन्तको घरमा बसेर पढेरहेकी १३ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोग थियो ।

पीडितले अदालतमा अभियुक्तलाई चिनेकै छैन भन्ने वयान दिएपछि ती सेनानीले सफाइ पाए । पीडितका तर्फबाट बहस गरेका एक वकिलका अनुसार यो घटनामा प्रलोभन र धम्की दुबै दिइएको थियो ।

अदालतमा हुने ढिलासुस्ती, अभियुक्त र पुरुष अधिकारीका अगाडि वयान दिनुपर्ने बाध्यता, पीडितलाई नै दोषी ठान्ने सोच जस्ता कारणले पनि पीडितहरू हत्तपत्त उजुरी गर्न जाँदैनन् । न्याय माग्न जाँदा पीडितले सम्झनै नपरे हुन्थ्यो भनेको घट्ना पनि पटक पटक बयान गर्नुपर्दछ ।

‘जीवनमा कहिल्यै सम्झनु नपरोस् भनेको घटनाको पटक-पटक हुबहु वयान गर्नुपर्दा पीडित हतोत्साहित हुन्छ भने पीडकले थप बल पाउँछ’, डा. अधिकारी भन्छिन्, ‘बयान फेर्न किन बाध्य पारिन्छ भन्ने बुझेर पीडितलाई न्याय प्रक्रियामा सहभागी गराउने र समाजमा पुनर्स्थापित गर्ने दायित्व राज्यको हो ।’

Onlinekhabarr 




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka