समाजवादीले सरकारसँग समर्थन फिर्ता लियो, अब रहेन दुई तिहाइ

सल्यान अनलाइन, पौष ०९, २०७६


समाजवादीले सरकारसँग समर्थन फिर्ता लियो, अब रहेन दुई तिहाइ

काठमाडौं : सरकारबाट अलग भएको समाजवादी पार्टी नेपालले सरकालाई दिएको समर्थन फिर्ता लिएको छ।  पार्टीको केन्द्रीय कार्यालयमा बुधबार बिहान बसेको बैठकपछि समर्थन फिर्ता लिएको घोषणा गरिएको हो।  पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो। 

समाजवादीले समर्थन फिर्ता लिएसँगै सरकारले दुई तिहाइ बहमतको हैसियत गुमाएको छ। प्रतिनिधिसभामा समाजवादी पार्टीका १७ जना छन्। दुईतिहाइ पुग्‍न एक सय ८४ जना सांसद आवश्यक पर्छ। नेकपासँग एक सय ७४ सांसद छन्। 

समाजवादी पार्टी १९ महिनाअघि सरकारमा सहभागी भएको थियो।मंगलबार मात्र पार्टीबाट सरकारमा सहभागी उपप्रधानमन्त्री तथा कानुनमन्त्री उपेन्द्र यादव, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले राजीनमा दिएका थिए।

एक महिनाअघि मन्त्रिपरिषद् पुनर्गठनमा स्वास्थ्यमन्त्री रहेका यादवलाई त्यो जिम्मेवारीबाट हटाएर कानुन मन्त्रालयको जिम्मेवारी दिइएपछि समाजवादी र सरकारबीचको सम्बन्धमा चिसो सुरु भएको थियो। संविधान संशोधनलगायतका मधेस मुद्दा सम्बोधनमा दुई बुँदे सहमति गरी तत्कालीन संघीय समाजवादी फोरम ओली नेतृत्वको सरकारमा सामेल भएको थियो।

हालै राष्ट्रिय जनता पार्टी 'राजपा' सँग सरकारले सहमति गरेसँगै समाजवादीमा असन्तुष्टि बढेको थियो। सरकारले मधेस केन्द्रित राष्ट्रिय जनता पार्टीका पाँच नेताहरुलाई बालुवाटार बोलाएर दुई बुँदे सहमति गरेको थियो। राष्ट्रियसभाको निर्वाचनमा सहकार्य गर्ने  सहमति गरेका दुई दल संघीय र प्रदेश २ मा सत्ता साझेदारी गर्ने तयारीमा जुटेका छन्।

उपसभामुखसहित संघीय सरकारमा एक मन्त्रालय र प्रदेश २ मा मुख्यमन्त्री राजपालाई दिने गरी प्रस्ताव सरकारले राजपा नेतृत्वलाई पठाइसकेको छ। छिटै राजपा सरकारमा सहभागी हुने संभावना छ। 

पुस ७ गते साँझ बसेको मन्त्रिपरिषद बैठकमा संविधान संशोधन सम्बन्धी प्रस्ताव पेस गर्न खोज्दा प्रधानमन्त्री ओलीले प्रक्रिया नपुगेको भन्दै अस्वीकार गरेका थिए। संविधान संशोधन प्रस्ताव अस्वीकार भएपछि यादवले सरकार छोड्ने मुड बनाएका थिए।
 
संविधान सुधार तथा संशोधनका लागि विज्ञ समिति गठन गर्नका लागि यादवले संविधान संशोधन प्रस्ताव तयार गरेका थिए। उक्त प्रस्तावलाई प्रधानमन्‍त्रीले ठाडै अस्वीकार गरेका थिए।

यस्तो छ संसद्को अंकगणित 

अहिले प्रतिनिधिसभामा कुल सदस्य २७५ छन्। यसमध्ये दुईतिहाई बहुमतका लागि १८३ मत आवश्यक पर्छ । समाजवादीले समर्थन गर्दाको अवस्थामा ओली सरकारको पक्षमा १९४ सांसद थिए। समाजवादीका १७ जनाले समर्थन फिर्ता लिएपछि सरकारको पक्षमा १७७ सांसद रहने छन्।संसद्को कूल सदस्यमध्ये १६५ प्रत्यक्षतर्फका छन् भने ११० समानुपातिकबाट आएका छन्।  यसमध्ये नेकपाको १७४, कांग्रेसको ६३, राजपाको १७ र समाजवादी पार्टीको १७ सिट छ। राष्ट्रिय जनमोर्चा,  राष्ट्रिय प्रजातन्त्र पार्टी  र नेपाल मजदुर किसान पार्टीको एकएक सिट छ। 

annapurnapost.com




प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2020 SalyanOnline.Com

Developed By Suresh Khadka