बिहीबार खण्डग्रास सूर्यग्रहण : खगोलविद्‍ भन्छन्, ‘मानवीय असर छैन’

सल्यान अनलाइन, पौष ०९, २०७६


बिहीबार खण्डग्रास सूर्यग्रहण : खगोलविद्‍ भन्छन्, ‘मानवीय असर छैन’

काठमाडौं : बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहणमा सूर्यको ३९ प्रतिशत भाग छोपिने भएको छ। बीपी कोइराला प्लानेटोरियम अब्जरभेटरी एण्ड साइन्स म्युजिएम विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार सूर्यको भाग पनि मुलुकको भू भाग अनुसार फरक फरक छोपिनेछ।

उनका अनुसार काठमाडौंबाट हेर्दा सूर्यको भाग ३९ प्रतिशत छोपिनेछ। काठमाडौंमा ग्रहण ८ बजेर ४३ मिनेट जाँदा सुरु भएर ११ बजेर ३३ मिनेटमा अन्त्य हुनेछ। त्यस्तै महेन्द्रनगरमा ग्रहण ८ जेर ३८ मिनेटबाट सुरु भएर ११ बजेर १९ मिनेट गएपछि अन्त्य हुनेछ। 

झापाको भद्रपुरमा ८ बजेर ४८ मिनेट गएपछि सुरु हुनेछ। अन्त्य ११ बजेर २७ मिनेट गएपछि अन्त्य हुनेछ। यहाँ ग्रहण अवधिभर सूर्यको भाग ३९ प्रतिशत छोपिनेछ। ग्रहण अवधिभर भद्रपुरमा सूर्यको भाग ३६ प्रतिशत मात्र छोपिनेछ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाया पृथ्वीमा पर्न गई सूर्यग्रहण हुन जान्छ। सूर्यग्रहण केवल चन्द्रमाको ‘न्यून मून’ फेजमा मात्र लाग्न सम्भव हुन्छ। खण्डग्रास, खग्रास तथा वलयाकार सूर्यग्रहण विभिन्न खगोलीय अवस्थामा निर्भर गर्दछ।

बिहीबार लाग्ने सूर्यग्रहण नेपालबाट खण्डग्रासमात्र देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए।  ‘बिहान ८ बजेर ४३ मिनेटमा सुरु हुने खण्डग्रास सूर्यग्रहण १० बजेर १ मिनेट जाँदा मध्ये हुनेछ भने ११ बजेर ३१ मिनेट जाँदा सकिनेछ’, भट्टराईले भने। 

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सूर्यग्रहणको अवलोकनको निःशुल्क व्यवस्था गरेको छ। बिहीबार बिहान ८ : ३० देखि ११ : ४५ बजेसम्म सूर्यग्रहण हेर्न सकिने अध्यक्ष भट्टराईले बताए। वैज्ञानिक मूल्य र मान्यता अनुसार सुरक्षित तरिकाले सूर्यग्रहण हेर्दा कुनै किसिमको हानी नोक्सानी नहुने उनको भनाइ छ।  

त्यसैगरी बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिले सूर्यग्रहणको अवलोकनका लागि व्यवस्था मिलाएको छ। 

कसरी लाग्छ सूर्यग्रहण 
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिक रूपमा छेकेमा अर्थात् चन्द्रमाको छाया पृथ्वीमा पर्न गएमा छाया परेको स्थानमा सूर्यग्रहण लाग्ने वैज्ञानिकको भनाइ छ। सूर्यग्रहण खग्रास, खण्डग्रास वा बलयाकारको हुन्छ। बिहीबार लाग्ने सूर्यग्रहण बलयाकार हो। ‘पृथ्वीको एक स्थानमा खग्रास सूर्यग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्ष पछिमात्र लाग्दछ’, विज्ञान संग्राहलयका निमित्त कार्यकारी निर्देशक शर्माले भने।  

वैज्ञानिकहरुका अनुसार सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाश छेक्दा पृथ्वीमा छाया पर्छ। ‘सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाया पृथ्वीमा पर्न गई सूर्यग्रहण हुन जान्छ’, डा. शर्मा भन्छन्, ‘सूर्यग्रहण केवल चन्द्रमाको ‘यून मून’ फेजमा मात्र लाग्न सम्भव हुन्छ। खण्डग्रास, खग्रास तथा वलयाकार सूर्यग्रहण विभिन्न खगोलीय अवस्थामा निर्भर गर्दछ।’

शर्माका अनुसार सूर्यग्रहणमा चन्द्रमा पृथ्वीबाट सबभन्दा टाढा पुगेको केही दिनपछि मात्र चन्द्रमाले सूर्यलाई छेक्ने हुदाँ पृथ्वीबाट अवलोकन गर्दा यसले सूर्यबाट आएका प्रकाशलाई पूर्णरूपमा नछेक्ने हुदाँ सूर्य केवल रिङ आकारको  गोलाकार रुपमा अवलोकन  हुनेछ। काठमाडौंबाट भने यो केवल खण्डग्रासको रुपमा अवलोकन गर्न सकिनेछ। 

‘सूर्य पृथ्वीबाट लगभग १५ करोड किलोमिटर टाढा छ। यसको ब्यास पृथ्वीभन्दा १०९ गुणा ठूलो छ र चन्द्रमाको ब्यास पृथ्वीको एक चौथाइ मात्र छ। तौल तीन लाख ३३ हजार गुणा बढी छ। यसको बाहिरी सतहको तापक्रम लगभग ६००० डिग्री सेन्टिग्रेड र केन्द्रको तापक्रम १५०००,००० डिग्री सेन्टिग्रेड रहेको छ’, डा. शर्माले भने, ‘सूर्य पृथ्वीको सबभन्दा निकट रहेको एउटा सामान्य प्रकारको तारा हो। सौर्यमण्डलका सम्पूर्ण ग्रहहरू आफ्नो कक्षमा परिभ्रमण गर्नका साथै सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेका हुन्छन्। पृथ्वी आफ्नो कक्षमा पश्चिमबाट पूर्वतिर परिभ्रमण गर्नुका साथै सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेका हुन्छ।’  

कसरी हेर्न सकिन्छ ? 
पृथ्वीको केही निश्चित भागबाट मात्र सूर्यग्रहण अवलोकन गर्न सकिन्छ। चन्द्रमाले सूर्यबाट आएको सम्पूर्ण प्रकाशलाई छेक्नाले पृथ्वीमा सघन छाया पर्न गई पृथ्वीको केही भागबाट खग्रास सूर्यग्रहण अवलोकन गर्न सकिन्छ। चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्ने स्थानमा अवस्थित व्यक्तिले केवल खण्डग्रास सूर्यग्रहण मात्र अवलोकन गर्ने अवसर प्राप्त गर्दछन्। 

‘सूर्यग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि पनि अवलोकन गर्नु हुँदैन। यसो गरेमा आँखा सदाका लागि बिग्रिने सम्भावना रहन्छ। साथै x-ray प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नुहुँदैन’, डा. शर्मा भन्छन्, ‘हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङको धातु लेपन भएको चश्माबाट मात्र यसको अवलोकन गर्न सकिन्छ, साधारण चश्माबाट यसको अवलोकन गर्नु हुँदैन।’ 

सूर्यग्रहणको समयमा मानवमा केही प्रभाव नपर्ने शर्माको भनाइ छ। ‘प्रभावका सम्बन्धमा हालसम्म कुनै पनि वैज्ञानिक आधारहरू प्राप्त हुन सकेका छैनन्’, डा. शर्मा भन्छन्। 




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2020 SalyanOnline.Com

Developed By Suresh Khadka