विद्यालयमा सुधार ल्याउन स्थानीय सरकार लाग्नुपर्ने सरोकारवालाको धारणा

सल्यान अनलाइन, पौष २९, २०७६


विद्यालयमा सुधार ल्याउन स्थानीय सरकार लाग्नुपर्ने सरोकारवालाको धारणा

इन्द्र बुढाथोकी सल्यान ,२९ पुष । 
सल्यान – सरकारी विद्यालयको शिक्षामा सुधार ल्याउन स्थानीय सरकारको भुमिका महत्वपुर्ण हुनु पर्ने सल्यानमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । इन्सेक नेपालले संचालन गरेको इपीएल परियोजना अन्तरगत जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा सोमवार गरिएको अन्तरक्रियामा सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन्।
शिक्षाका अधिकार सम्बन्धी शिक्षक, विद्यार्थी र अभिभावकसंग गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै विद्यार्थी शुसान्त केसीले विद्यालयमा स्वच्छ खानेपानीको अभाव,शौचालयको अभाव र भवनको अभावका कारण विद्यार्थीलाइ समस्या हुने गरेको बताउनुभयो । कक्षा कोठा व्यवस्थापन नहुदा १५० जना विद्यार्थी सम्म एउटै कोठामा बस्नुपर्ने बाध्यताले अक्सिजनसमेतको कमि हुने गरेको उहाँले गुनासो गर्नुभयो । उहाँले विद्यालयमा विद्यार्थीलाइ मात्र नियम लाग्ने तर शिक्षकलाइ कहिले नियम नलाग्ने समस्या भएको बताउनुभयो ।
अर्का छात्र दशरथ बुढाले परिक्षामा शुक्रबार कार्यक्रमको प्रश्न आउँछ तर विद्यालयमा कहिले पनि  अतिरिक्त कार्यक्रम नगिरने गुनासो गर्नुभयो । उहाँले  विद्यालयमा शिक्षकहरु अनियमित आउने,र कहिलेकाँही मदिरा सेवन गरेर समेत आउने भएकाले यस्ता विषयमा सरोकारवालाहरुको ध्यान आकर्षण हुनुपर्ने बताउनुभयो । यस्ता विषयमा स्थानीय सरकारले समेत समस्या पहिचान गरि पहल गर्नुपर्ने उहाँको को जोड थियो ।

अभिभावक निम प्रसाद बुढाले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुपनि जिम्मेवार भएको बताउनुभया । उहाँले सरकारी जागिर भनेर तलब पाइहाल्ने भन्दापनि शिक्षालाइ गुणस्तर बनाउन शिक्षकहरु आफै अग्रसर हुन आवश्यक रहेको बताउनुभयो । भौतिक सामाग्रीको अभाव र शिक्षक दरबन्दीका विषयमा भने स्थानीय सरकार र जिम्मेवार निकायले ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।
प्रभाकर माविका प्रधानाध्यापक शिखर यरीले शिक्षक अभाव भएका विद्यालयमा स्थानीय सरकारले स्वयंसेवक शिक्षक भर्ना गरेर भएपनि शिक्षक पदपुर्ति गर्नुपर्ने बताउनुभयो ।उहाँले विद्यालयमा खानेपानी,शौचालय र भौतिक विकासका लागी स्थानीय सरकारले छिटै योजना बनाउनुपर्ने बताउनुभयो ।  उहाँले राज्यमा तीन तहको सरकार भए पनि अहिले सम्म कुनै पनि सरकारले ऎन नियम ल्याएर लागू नभएको बताउनुभयो ।  राज्यले पर्‍याप्त शिक्षकको व्यवस्थापन नगर्दा आफुहरुले शुल्क उठाएर पढाउनु बाध्य भएको उहाँको भनाइ छ।

नगर स्तरीय मानवअधिकार समुहका सदस्य सचिव दुर्गा विशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण इन्सक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले गर्नु भएको थियो । कार्यक्रमको उद्देश्यबारे इपीएल परियोजना सहजकर्ता रामचन्द्र रेग्मीले जानकारी गराउनु भएको थियो ।

शिक्षा सुधारका लागी नगरपालिकालाइ १३ बुँदे ध्यानाकर्षणपत्र
नगरपालिकाको शिक्षा सुधारकालागी बनगाड कुपिन्डे नगरपालिकाको मानवअधिकार समुहले नगरपालिकालाइ १३ बुँदे ध्यानाकर्षण पत्र पेश गरेको छ । इन्सेक नेपालको इपिएल परियोजना अन्तरगत शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवासको अधिकार अन्तरगत पुष २८ गते नगरपालिकाको सल्लीबजारमा सरोकारवाला बिच भएको छलफल पछि शिक्षामा देखिएका समस्याका विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
शिक्षाको अधिकार सम्बन्धी शिक्षक,विद्यार्थी र अभिभावकबिच अन्तरक्रिया कार्यक्रमपछि सरकारी नितीमा रहेका कुरा व्यवहारमा लागु गर्न स्थानीय सरकारलाइ ध्यानाकर्षणपत्र बुझाएको मानवअधिकार समुहका सदस्य सचिव दुर्गा विशीले बताउनुभयो ।
स्थानीय सरकारले प्रदान गरिरहेको शिक्षा,स्वास्थ्य,खाद्य अधिकार सम्बन्धीका सेवाहरू र ती सेवा प्राप्तिमा जनताको पहुँच बृद्धी गर्न आयोजना गरीएका विभिन्न कार्यक्रमहरुमा सरोकारवालाहरुले दिएको सुझाव,सल्लाह,नगरपालिकाले गरेको प्रतिवद्धता तथा मानव अधिकार समुहको स्थलगत अनुगमनका क्रममा देखिएका समस्या सुधारकालागी पहल गर्न मानव अधिकार समुहको तर्फबाट ध्यानाकर्षण पत्र पेश गरेको उहाँले जानकारी दिनुभयो ।
ध्यानाकर्षणपत्र बुझ्दै नगर प्रमुख गोविन्द कुमार पुनले शिक्षामा देखिएका विविध समस्या समाधान गर्न नगरभित्रका विद्यालयमा अनुगमन गर्ने बताउनुभयो । शिक्षा क्षेत्रमा सरोकार राख्नेहरु संग सामुहिक रुपमा विद्यालयमा अनुगमन गर्ने र भेटिएका समस्यालाइ न्युनिकरण गर्न आवश्यक कदम चाल्ने उहाँको भनाइ छ ।
उहाँले मदिरा सेवन गरेर आउने शिक्षकका सन्दर्भमा विद्यालयमा स्वास्थ्यकर्मी सहितको टोली लिएर मापसे चेक गर्ने र मापसे गरेको पाइएमा कारवाहीको दायरामा ल्याउने चेतावनी समेत दिनुभएको छ । मौलिकहक कार्यान्वयनमा स्थानिय सरकारलाई सहयोग र सहजीकरण गर्न नागरीक समाज संस्थाहरुले पनि साझेदारी गरीरहेको संन्दर्भमा अनौपचारिक सेवाकेन्द ९ईन्सेक०ले पनि यस नगरपालिकामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम संचालन गरीरहेको छ ।




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2020 SalyanOnline.Com

Developed By Suresh Khadka